अग्नि पीडितलाई संस्थाको नगद सहयोग

गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा भएको ग्याँस बिस्फोटनको घरधनीलाई सवारी चालक समाज, धादिङले संस्थाको तर्फबाट सान्त्वना स्वरुप बिस हजार रुपैयाँ प्रदान गरेको छ।
सवारी चालक समाजको पश्चिम क्षेत्रीय कार्यालय, बैरेनी, धादिङमा आयोजित कार्यक्रममा सवारी चालक समाजका अध्यक्ष नारायण पन्तले सो रकम प्रदान गर्नुभएको हो।
संस्थाका अध्यक्ष नारायण पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रम गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्ण सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
घरधनी बाबुराम तिमल्सिना पनि सवारी चालक भएकाले वहाँलाई सान्त्वना स्वरुप सो रकम प्रदान गरिएको बताइन्छ । कार्यक्रममा बोल्नुहुँदै सवारी चालक समाज, धादिङका सभापति पन्तले सो संस्था चालकहरुको हकहितको लागि स्थापना भएको र यसले चालकहरुको लागि नै कार्य गर्ने बताउनुभयो।
गत पौष सात गते बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्याँसको सिलिण्डर घरभित्र पुर्याएपछि विस्फोट भएको थियो।
पुरानो ग्याँस सिलिण्डर प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको थियो। भने लाखौको धनमाल नष्ट भएको थियो।
ग्याँस उद्योगले बजारमा ल्याएको सिलिण्डर घरमा लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन तिमल्सिनाले माग गरेका थिए। मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको थियो।
सो घटना लगतै वडा कार्यालयले गाउँमा लगिएका सबै ग्याँस सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ता गर्नका लागि आह्वान गरेको थियो।