इम्बोस्ड नम्बर प्लेट लागू, मोटरसाइकलका लागि रु दुई हजार ५०० दस्तुर

चन्द्रागिरि ।

मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरु गरिएको छ ।  सोमबार मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा विशेष कार्यक्रमका माझ भौतिक योजना तथा यातायात मन्त्री वीर बहादुर बलायरले यसको औपचारिक उद्घाटन गरेका छन् । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार नेपामा पहिलो पटक इम्बोस्ड नम्बर प्रणाली लागु गरिएको हो । विभागले सुरुमा यातायात व्यवस्था विभागका सवारीसाधन र क्रमैसंग कूटनीतिक नियोग, निजी र सार्वजनिक सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने बताएको छ ।

पहिलो चरणमा सरकारी र कूटनीतिक नियोगका दुईपाङग्रे र चारपाङग्रे गरी ४० हजार सवारीमा यो प्रणाली लागु गरिनेछ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ राखिने भएकाले कुनै पनि नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने सजिलै पत्ता लगाउन सकिने भएकाले यो लागु भएपछि सवारीसाधन चोरी नियन्त्रण हुनुकासाथै कर छल्ने प्रवृत्तिको नियन्त्रण भई सवारी दुर्घटनामा पनि कमि आउने विश्वास लिएको यातायात व्यवस्था विभागले लिएको महानिर्देशक रुपनारायण भट्टराइले बताए । सवारीसाधनलाई व्यवस्थित गर्न विकसित मुलुकहरुमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो ।

फलामको पातामा अंक र अक्षर राखिएको यो नम्बरप्लेट हाल सवारीसाधनमा प्रचलित नम्बर प्लेटभन्दा फरक र अक्षरहरु उचाइमा रहेका कारण यस्तो नम्बरप्लेटलाई इम्बोस्ड नम्बरप्लेट भनिएको हो । यो प्रणाली लागु भएसंगै यसअघि नौ प्रकारका सवारीसाधन सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक गरी चार किसिममा सीमित भएका छन् । एकपटक लगाइएको इम्बोस्ड नम्बर १० वर्षसम्म रहन्छ ।

५ बर्ष भित्रमा मुलुकभरका २५ लाख सवारी साधनमा यो प्रणाली प्रयोग गरिसक्ने लक्ष विभागको छ । कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री वीर बहादुर बलायरले यातायात क्षेत्रमा इम्बोस्ट नम्बर प्लेट प्राणाली लागु हुनु अत्यन्तै राम्रो भएको भन्दै सुरक्षित यात्रा, जीवन रक्षा र अपराध नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

विभागले काठमाण्डौ छिर्नै थानकोट, र्फपिङ, जगाती, जोरपाटी र नागार्जुनमा चेक प्वाईन्ट राखेर इम्बोस्ट नम्बर लगाए नलगाएको चेक गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसैगरी उपत्यका बाहिरका विभिन्न शहरमा पनि आवश्यक व्यवस्था मिलाईएको विभागले जनाएको छ । सवारीधनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बरप्लेट प्रदान गर्ने व्यवस्था पनि विभागले मिलाएको छ ।

कस्तो हुनेछ प्लेट ?

मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।

यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सो कार्य सम्पन्न हुँदा यसको लागत रु चार करोड ३७ लाख ८७ हजार ५०० अमेरिकी डलर ठेकेदार कम्पनीलाई भुक्तानी गरिने छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटमो ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने हुँदा त्यसको प्रयोगपछि सवारीसाधन नं टाडाबाट समेत देख्न सकिन्छ । नं प्लेटमा अन्तर्राष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी छ । प्लेटको कडापन एच४१ र एच ४२ हुने र प्लेटको मोटाई ०.९८ एमएम हुनेछ ।

राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ, तल गाढा निलो रङ एनइपी, अक्षरमुनि लालीगुराँससहित नेपालको निसाना छाप हुनेछ । सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानूनी व्यवस्था गरिएको छ ।

नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नं प्लेटलाई अब पाँच प्रकारको नं प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनमा इम्बोस्ड नं प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले विश्वास व्यक्त गरे ।

कति लाग्छ रकम ?

विभागले यो नं प्लेट राखेवापत राजश्ववापत सेवाग्राहीबाट ठूला सवारीका लागि रु तीन हजार ६००, चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकलका लागि रु दुई हजार ५०० दस्तुर निर्धारण गरेको छ । यसको प्रयोगपछि दुर्घटना भएमा छिटो छरितो घाइतेको उद्धार हुन सक्ने भएकाले यसलाई यस क्षेत्रको ठूलो उपलब्धि मानिएको छ ।