काठमाडौंका अधिकांश पेट्रोल पम्पमा इन्धनको अभाव

काठमाडौं। भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकरचालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ। ट्यांकर चालकले अत्यावश्यक सेवासम्बन्धी कानुन प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरेका हुन्। बुधबार इन्धन ढुवानी नभएपछि बिहीबार राजधानीका खुलै रहेका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल भर्ने सवारीसाधनको लाइन लागेको थियो भने केही पम्प बन्द थिए।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारसँगको माग देखाएर चालकले ढुवानीमा अवरोध गर्नु गैरजिम्मेवारीपन भएको बताए। उनले भने, ‘ढुवानीमा अवरोध गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।’ नेपाल आयल निगमको थानकोट डिपोले बुधबार कम इन्धन वितरण भए पनि बिहीबार अन्य दिनजस्तै डिजेल र पेट्रोल पम्पमा पठाएको जनाएको छ। उपत्यकामा नियमित रुपमा जानेजति नै पेट्रोल र डिजेल आपूर्ति गरेको थानकोट डिपो प्रमुख नेत्र काफ्लेले बताए। बुधबार बिदाको दिन परेकाले पर्याप्त इन्धन बजारमा नजाँदा अभाव भएको निगमको दाबी छ।

बिहीबार थानकोट डिपोबाट ६ सय किलोलिटर पेट्रोल र ५ सय ५० किलोलिटर डिजेल बजारमा पठाएको निगमले जनाएको छ ।  बिहीबार भने चालकको आन्दोलनका कारण एक सय किलोलिटरमात्र आयात भएको छ। बुधबार २ सय १० किलोलिटर आयात भएको थियो। लगातार दुई दिन आयात नभएपछि पेट्रोल स्टक घटेको हो। याे खबर अाजकाे नागरिकमा छ ।