काठमाडौंका भित्री सडक आजदेखि चार पाङग्रे सवारी मुक्त,कहाँ–कहाँ छ निषेध (सूचना सहित)

काठमाडौं महानगरपालिकाले आज देखि काठमाडौंको भित्री सहरमा चार पाङ्ग्रे सवारीसाधन निषेध गरेको छ । महानगरपालिकाले कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाडसँगै सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पाङग्रे सवारीसाधन चलाउन निषेध गर्न लागेको हो।

आजदेखि तोकिएको समयमा महानगरपालिकाका १७, १८, १९, २२, २४, २५ र २७ वडामा पर्ने भित्री सडकमा चारपांग्रे सवारी प्रवेश गर्न पाउने छैन् । अब इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटु लगायतका स्थानमा चार पाङग्रे सवारी गुडाउन पाईनेछैन् । त्यस्तै गरी भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन रोक लगाइएको छ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी मात्रै सवारीचालन चलाउन पाइनेछ । त्यस्तै गरी टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोकसम्म जान मात्रै सकिनेछ। एम्बुलेन्स, शव वाहन, खानेपानी, दुध बोकेका सवारी साधन, बिरामी तथा अशक्त बोेकेका सवारी साधनलाई जुनसुकै समयमा गुड्न दिइनेछ । यस्तै पास लिएर चलाएका निजी सवारीसाधनलाई समेत आपतकालीन समयमा गुड्न दिइनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि ठमेल र पशुपति क्षेत्रमा सवारीसाधन निषेध गरिसकेको छ ।महानगरले मौलिकता संरक्षणका लागि भन्दै चार पाङग्रे सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेपनि त्यस क्षेत्रमा जानेका लागि सवारी साधन पार्किङ स्थलको व्यवस्थापन भने गरेको छैन ।