चन्द्रागिरि हिल्स सम्मानित

चन्द्रागिरि ।

पृथक अवधारणा सहितको विशेष पर्यटकीय उत्पादनमार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पुर्याए बापत चन्द्रागिरि हिल्स लिमिटेडलाई आज एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको छ ।

३८औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरेको विशेष कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरेको हो ।

सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको जानकारी गराए । उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उधोगमा भएको नीजि लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे । चन्द्रागिरि हिल्सले नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तिमा एक दिनले लम्ब्याउने उद्देश्यमा अगाडि बढेको जानकारी दिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।