चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

चन्द्रागिरि ।

नयाँ वर्ष २०७४ को २ दिन अघि अर्थात २०७३ चैत्र ३० गते मध्यरातमा गणेशमानसिंह मार्गको चेकपोष्ट-गोदाम खण्डको कालोपत्रे (पिच) सुरू गरिएसँगै राणाकालीन युगमा गाडी गुडाइएको भनिएको सडकले मुहार फेरेको स्थानीयले अनुभव गरे । नयाँ वर्ष सँगै स्थानीयले धुलो, हिलो र खाल्डाखुल्डीको सट्टा चिल्लो सडक उपयोग गर्न पाउने भए । उक्त खण्डमा सडक किनाराका स्थानीयले मन खुसीले नै घर टहराका कम्पाउण्ड भत्काएर सडकको स्तरोन्नतिमा हातमा हात मिलाए, २०७३ जेठ २७ गते भित्र नै सम्पन्न गर्नुपर्ने भनि २०७२ असार २८ गते काष्ठमण्डप कन्ट्रक्सन प्रा.लिसँग सम्झाैता भएपनि भुकम्प, नाकाबन्दी लगायतका कारण ढिला भइ निर्धारित समय भन्दा करिब १ वर्षपछि सम्पन्न भयो । ठाँउ ठाँउमा प्वाल पारि  कालोपत्रेको नमुना संकलन पनि समयमै सकियो अहिले गोदामचोक देखि मकवानपुरको चित्लाङसम्मको सडक खण्डको स्तरोन्नतिका लागि निर्माण कार्य जारी छ ।

हेराैँ चैत्र ३१ गते हामीले प्रकाशित गरेको सम्बन्धित समाचार ।

रातको समयमा गरिएको कालोपत्रे गुणस्तरीय छ कि छैन् भन्नेमा उतिबेलै स्थानीयहरू सशंकित भइसकेका थिए । निर्माण व्यवसायीले रातको समयमा कार्य गर्दा सबैलार्इ सहज हुने बताएपछि स्थानीयहरूले नाइनास्ती पनि गरेनन् । जेठ महिना लाग्दा नलाग्दै केहि ठाउँमा कालोपत्रेले ठाँउ छोड्यो, पानी परेपछि कतिपय स्थानमा कालोपत्रे भासिएको देखिन थाल्यो । अहिले चेकपोष्टस्थित वडा कार्यालयबाट चन्द्रागिरि केबलकार पुग्ने चोक सम्मको सडकका थुप्रै स्थानहरूमा पिच चिरा चिरा परिसकेको छ, केहि स्थानहरूमा कालोपत्रे मुनिको माटो देखिन थालेको छ ।