जापानमा जापानी किकबक्सरलाई हराउँदै अबिरलले नेपाली झण्डा फहराए

निरन्तर जितको इतिहाँस कोर्दै नेपाली युवा किक बक्सर अबिरल घिमिरेले जापानमा जापानी किक बक्सरलाई पराजीत गर्दै नेपाली झण्डा फहराएका छन् ।

जापानका आफुभन्दा धेरै अनुभवी र व्यवसायिक किक बक्सर युहेयीलाई यहाँको चर्चीत हिट ४३ किक बक्सिगं प्रतियोगितामा नवौं जित दर्ता गर्ने क्रममा अबिरलले पहिलो राउण्डमा नै नकआउट गरिदिएका हुन् ।

हिट-४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ नाम दिइएको प्रतिस्पर्धामा जापानी किक बक्सर युहेयीलाई पराजित गरेका अबिरल दोस्रो खेलमा भने चुक्न पुगे ।

हिट-४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ प्रतियोगिता टुर्नामेन्टको हिजै भएको फाईनल भिडन्तमा अबिरल ब्राजिलको टप किक बक्सिगं इभेन्टका बिजयी किक बक्सर ब्रुनोगाजानीसँग जज डिसिजनका आधारमा पराजित हुन पुगेका छन् ।

हिट-४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ प्रतियोगिता टुर्नामेन्टको च्याम्पियन हुनबाट चुकेका अबिरलले दुई खेलमा एकमा जित र एकमा जजहरुको निर्णयका आधारमा खेल गुमाएका हुन् ।

खेलपछि हिमालयन चितुवाको नामले समेत जापानमा परिचित बन्दै आएका अबिरलले पहिलो खेलबाट केही थाक्दा दोस्रोखेलमा उत्कृष्ठ प्रदर्शन गर्न नसकेको भन्दै च्याम्पियन बेल्ट जित्न नसकेपनि खेल समग्रमा उपलब्धिमुलक रहेको भन्दै आगामी खेलहरुको लागि सिकाई र अनुभव भएको प्रतिक्रिया दिए ।

यसअघि आधा दर्जन जापानी किक बक्सर सहित चर्चीत व्यवसायिक ब्राजिल, दक्षिण कोरिया लगायत देशका किक बक्सरलाई पराजित गरिसकेका अबिरल सपरिवार जापानको नागोयामा बस्दै आएका छन् ।

अविरलका पिता देब घिमिरे जापानको नागोयामा किक बक्सिंगको प्रशिक्षण गराउने गर्दछन् । अबिरलको मुख्य प्रशिक्षण समेत देवलेनै गराउँदै आएका छन् ।

नागोयाको खारिया स्थित स्पोर्ट्स सेन्टरमा भएको सोमबारको प्रतिस्पर्धामा नेपाली शान बनेर जापानमा नेपाली परिचय बनाउँदै गएका अबिरललाई हौसला प्रदान गर्न एनआरएनए नागोयाका अध्यक्ष दिपक केसी, गल्कोट समाज जापानका बरिष्ठ उपाध्यक्ष भवानी पन्त, रमेश गौतम, राम थापा, मनोज केसी लगाएत नेपाली र जापानी समर्थकहरु उपस्थित थिए ।