पहिले नाग टाँस्ने कि जनै लगाउने ?

चन्द्रागिरि ।

आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको हो । रक्षाबन्धन गर्ने दिनलाई जनैपूर्णिमा पनि भनिन्छ ।

‘तर पञ्चमीको दिन जनै लगाउनुपर्ने भएपछि यसपाली जनैपूर्णिमा भन्न मिलेन, जनैपञ्चमी भन्नुपर्ने भयो’ नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले उज्यालो अनलाइनसँग भन्नुभयो । उहाँका अनुसार पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज २३ गते नै गर्दा हुन्छ ।

तर रक्षाबन्धन र जनै लगाउने कार्य भने नागपञ्चमकीको दिन गर्नुपर्छ । त्यसो भए नागपञ्चमीको दिन आउँदो १३ गते शुक्रबार पहिले जनै लगाउने कि नाग टाँस्ने त ? ‘पहिले पञ्चमीको कर्म गर्नुपर्छ, बिहान नाग टाँस्ने त्यसपछि रक्षाबन्धन गर्नु उपयुक्त हुन्छ’ ढुंगेलले भन्नुभयो ।