पोल र तारको धराप !

विद्युत् प्राधिकरण तथा दूरसञ्चार सेवाप्रदायकले अव्यवस्थित रूपमा ठड्याएका पोल र लतारेका तारकै कारण सवारी मात्र होइन, अन्य खाले दुर्घटनामा समेत वृद्धि भइरहेको छ । उपत्यकाका विभिन्न स्थानका सडकको मध्यभागमै बिजुलीका पोल ठडिएका छन् । तिनमा ठोकिएर बारम्बार सवारी दुर्घटना हुने गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल तथा अस्तव्यस्त तारमा अल्झिएर हुने गर्छ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काठमाडौं जिल्लामा विद्युत् ‘सर्ट’ भएर पाँच जनाको मृत्यु भएको थियो । ०७३/७४ मा मृत्यु हुनेको संख्या बढेर सात पुग्यो । चालू आर्थिक वर्षको हालसम्म यस्तै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल तथा अस्तव्यस्त तारमा अल्झिएर हुने गर्छ ।  नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बिजुलीका पोलमाथि इन्टरनेट तथा अन्य सेवाप्रदायकले धेरै तार थुपार्दा दुर्घटना बढेको बताए । ‘बिजुलीका पोलमाथि अत्यधिक तार गुजुल्टिने समस्या छ, अत्यधिक तारको भारले पोल ढल्ने र तार भुइँमा लत्रिएर दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘अस्तव्यस्त तार पन्छाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छौँ, बारम्बार अटेरी गर्छन् ।’

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसी विद्युत् प्राधिकरणले समयमै बिजुलीका पोल नसार्दा सडक विस्तारमा समस्या भएको बताउँछन् । ‘विद्युत् प्राधिकरणले सडकको मध्यभागका पोल नहटाउँदा सडक विस्तारमा अवरोध भइरहेको छ,’ उनले भने, ‘सडकका पोलमा सवारीसाधन ठोक्किएर दुर्घटना हुने गरेको छ ।’
प्राधिकरणका निर्देशक श्रेष्ठ सडक विस्तार समयमै नहुँदा पोल सार्न कठिनाइ भएको बताउँछन् । ‘सडकमा पेटी नबसेसम्म पोल सार्न मिल्दैन, ११ हजार भोल्टेजको तार जथाभावी राख्न समेत मिल्दैन,’ उनले भने, ‘मापदण्डअनुसार घरबाट कम्तीमा सवा मिटर दूरीमा बिजुलीको पोल राख्नुपर्ने हुन्छ, तर सडक विभागले भने घरकै आँडमा पोल राखिदेउ भन्दै आउँछ, त्यसले जोखिम बढाएको छ ।’ उनले विद्युत् सुरक्षा कार्यक्रमअन्तर्गत भूमिगत तार व्यवस्थापन र सडकका पोल हटाउने तयारी गरिरहेको बताए ।

नागरिक