फेसबुकले ल्यायो नयाँ नियम, न्युज फिडमा ठूलो परिवर्तन गर्दै

फेसबुकले आगामी हप्तादेखि न्युज फिडमा ठूलो परिवर्तन गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो न्युज फिड स्क्रोल गर्दा व्यवसायिक, संचारमाध्यमजस्ता कम्पनी र ब्रान्डका पोष्टहरु कम हेर्नुपर्ने बताइएको छ । परिवार र साथीभाइले शेयर गरेका तस्बिर लगायत अन्य पोष्टलाई बढी महत्व दिइने र व्यवसायिक खालका पोष्टहरुलाई प्रयोगकर्तामाझ कम देखाइने निर्णय भएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका हुन् ।

फेसबुकको उद्देश्य मानिसहरुलाई एकआपसमा जोड्नु र सकारात्मक भावनाहरु बाँड्नु रहेको जुकरवर्गले बताए । मानिसहरुले फेसबुक जस्तो सामाजिक संजालको प्रयोग गर्दा खर्चेको समयले उनीहरुमा सकारात्मक प्रभाव पारोस् भन्ने फेसबुकको लक्ष्य रहेको उनले बताएका हुन् । फेसबुक प्रयोगकर्ताले एक्लोपना महसुस नगरुन् र टाढाका साथीभाइ र आफन्तसँग राम्रो सम्पर्क होस् भन्ने अभिप्रायका साथ यसो गर्न लागिएको जुकरवर्गले आफ्नो ब्लगमा उल्लेख गरेका हुन् ।

फेसबुकका पोष्टहरुले मानिसहरुबीच अर्थपूर्ण अन्तरक्रिया गराउनका लागि जुकरवर्गले यो परिवर्तन ल्याउन लागेको बताएका छन् । आजभोलि प्रयोगकर्ताहरुले मन नलाग्दा नलाग्दै पनि व्यवसायिक पोष्टहरु पढ्ने, हेर्ने गरेको र सूचनामुलक र मनोरञ्जनात्मक भएपनि यसले मानिसहरुबीचको अन्र्तक्रियालाई घटाउँदै लगेको भन्दै यस्तो बदलाव आवश्यक भएको जुकरवर्गले बताएका हुन् ।

मानिसहरुले कम प्रतिक्रिया दिने गरेका पेजहरु पनि अबबाट फेसबुकमा देखा नपर्ने बताइएको छ । त्यसकारण आगामी सातादेखि फेसबुकले परिवार र साथीहरुका पोष्टलाई बढी केन्द्रित गर्ने निर्णय गरेको बताएको छ ।