बलम्बुमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–१२, बलम्बुस्थित फत्तेपुर महादेव मन्दिरमा सञ्चालित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

भास्तिपुर ज्ञानमाला भजन खलःले महायज्ञ आयोजना गरेको हो । महायज्ञ अघिल्लो सोमबार सुरु भएको थियो । भास्तिपुर ज्ञानमाला भजनकिर्तन भवन बनाउन महायज्ञ सञ्चालन गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ ।

महायज्ञमा माता श्री सपनादेवी श्रेष्ठले प्रवचन दिएकी थिइन् । महायज्ञमा उपस्थित हुने भक्तजनले अन्न, तुला,नगद तथा जग्गा दान गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महायज्ञमा विभिन्न सहकारी संस्थाले आर्थिक सङ्कलन, व्यवस्थापन लगायतमा सहयोग गरेका थिए । अभिलेख बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलम्बु च्याउ सहकारी, हसना भास्तिपुर बचत तथा ऋण सहकारी, सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकारी, युनाइटेड हेड्स बचत तथा ऋण सहकारी, प्रज्ञान बचत तथा ऋण सहकारी, विजयी भव: बचत तथा ऋण सहकारी, इको मिरर बचत तथा ऋण सहकारी, किसान कृषि बचत तथा ऋण सहकारी लिमिटेडलगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।

पवित्र उद्येश्य लिई असोज १ गतेदेखि आयोजित महायज्ञ कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति हुनुका साथै स्वतःस्फूर्तरुपमा अन्न दान, तुलादान, जग्गादान सहित नगद सहयोग ६० लाख भन्दा बढी संकलन भएको अभिलेख वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यनारायण श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा स्थानीय व्यक्ति तथा संघसंस्थाले सहयोग पु-याएको उनले बताए ।

दम्पत्तिले गरे जग्गा दान
भजनकिर्तन भवन बनाउन एक दम्पत्तिले जग्गा दान गरेका छन् । स्थानीय तारा श्रेष्ठ र नरेन्द्र श्रेष्ठले जग्गा दान गरेका हुन् । स्वर्गीय आमा पञ्चमाया श्रेष्ठको सम्झनामा जग्गा दान गरेको जग्गा दाता तारालाई उद्धृत गर्दै आयोजकले जनाएका छन् ।