बलम्वु दे:पखामा पुन: नापी गरी सम्बन्धित जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) बितरण

सत्य श्रेष्ठ, बलम्वु

काठमाण्डौ, चन्द्रागिरि नगरपालिका स्थित बलम्वुका निश्चित स्थानियबासीले पुस्तौ-पुस्ताको प्रतिक्षा पछि जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । सरकारले २०२१ सालको नापीको समयमा साबिक बलम्वु गाउँ बिकास समितिको गाउँ ब्लकको रुपमा राखेको बलम्वु दे:पखामा पुन: नापी गरी सम्बन्धित जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) बितरण गरेको हो।

चन्द्रागिरि नगरपालिका वडा-१२, बलम्वु स्थित गाउँ ब्लक अर्थात दे:पखाका १ सय ११ जना स्थानियले जग्गा धनी प्रमाणपत्र लालपुर्जा प्राप्त गरेका छन्। घर बनाएर बसेपनि जग्गाधनी पुर्जा बिहिन बनेर बसेका बलम्वुका स्थानीय बासीले पुस्तौपुस्ताको प्रतिक्षापछि लालपुर्जा हातपारेका हुन् ।

सरकारले २०२१सालमा नापीको समयमा घनावस्ति रहेको स्थान बलम्वुलाई ब्लक एरियाको रुपमा छोडिएकोमा पुन: नापी गरेर जग्गाधनी प्रमाणपत्र पुर्जा दिन थालेपछि स्थानियले आ-आफ्नो घर जग्गाको दर्ता प्रमाण पत्र पुर्जा पाएका हुन ।

काठमाडौंको कलंकी मालपोत कार्यालयका नापी शाखा प्रमुख सुरेश जोशीले ब्लकमा राखीएका यस्ता जग्गा पुन: नापी गरेर घर जग्गाको दर्ता प्रमाण पत्र पुर्जा वितरण गर्न शुरु गरिएको र यसै आर्थिक बर्षभित्र यस्ता सबैको बितरण सक्ने गरी काम अगाडी बढेको बताएका छन।

चन्द्रागिरि नगरपालिका वडा-१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले आफु निर्वाचित भएदेखि नै यस कार्यमा एकाग्रह भैलागेको र आज यस कार्यक्रमसम्म आउन चन्द्रागिरि नगरपालिकाबाट पनि पूर्णरुपमा सहयोग प्राप्त भएको बताएका छन। बलम्बु गाँउ दे:पखा भित्रको २ सय भन्दा बढीको नापी भएर दर्ता प्रकृया टुङ्गीएको छ र बाँकी अन्य यस्ता जग्गाहरुको पनि छिट्टै वितरण गर्ने तयारी भैरहेको उनले जानकारी दिएका छन ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाको केन्द्रमा रहेको बलम्वुको विकासको लागि आफु सधैं लागिपरेको बताएका छन । उनले चन्द्रागिरि न. पा.भित्र बलम्वु मात्र नभई अन्य वडाका निश्चित वडाबासीले पनि आ-आफ्नो जग्गाधनी दर्ता प्रमाण पत्र पाउन बांकी छन्, यस सम्बन्धमा पाउनुपर्ने सबैले आ-आफ्नो जग्गा धनी दर्ता प्रमाण पत्र पुर्जा यथाशिघ्र चांडो पाउन भन्ने हेतुले नगरपालिकाले पुर्णरुपमा पहल गर्दै गरेको बताएका छन।

नगर प्रमुख गिरीले बलम्वुको लागि अबको प्रमुख आवश्यकता भनेको खानेपानीको सहज बितरण हो, निकट भविश्यमा नै वडा-१२ कार्यालयको निति अनुरुप “एक घर एक धारा” ब्यवस्था गर्न सफल हुने बिश्वस्त पारेका छन । उनले यसका लागि चन्द्रागिरि नगरपालिकाले गर्नुपर्ने सबै सहयोग उपलब्ध गर्ने प्रतिबध्दता जनाएका छन ।

उक्त अवसरमा “जेष्ठ नागरिकलाई सबैले माया गर्नुपर्छ”भन्ने हेतुले
चन्द्रागिरि नगरपालिका-१२ बलम्वुको तर्फबाट वडाध्यक्ष प्रकाश श्रेष्ठले स्थानिय ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) उपहार सहित सम्मान गरेका छन ।