बाहिरी चक्रपथ : ६.६ किमी शिलान्यास चुनावलगत्तै

चन्द्रागिरी,
बाहिरी चक्रपथ सडकको शिलान्यास चुनाव लगतै गरिने भएको छ । यसका लागि आवश्यक तयारी पूरा भइसकेको शहरी विकासमन्त्री दिलनाथ गिरीले जानकारी दिएका छन् ।

बुधबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलमा शहरी विकास मन्त्री गिरीले भने, ‘ढुक्क हुनुस् । बाहिरी चक्रपथको शिलान्यास गरेर मात्र जान्छु ।’

बाहिरी चक्रपथको ७१.३ किलोमिटर मध्ये ६६ किलोमिटर सडकको डीपीआर आर्थिक वर्ष ०६८/६९ मै भएको थियो । तर, विवादका कारण अघि बढेन ।

अहिले चोभार सतुङ्गल खण्ड -६.६ किमी) को प्रक्रिया अघि बढाइएको छ । साथै एक वर्षभित्र चोभार सतुङ्गल खण्डको प्रमुख ट्रयाक खोल्ने मन्त्रीको दाबी छ । यसका लागि आवश्यक जग्गामा चिनो लगाउने कार्य तत्काल अघि बढाइने शहरी विकास मन्त्रालयले जनाएको छ ।

गिरीका अनुसार जग्गा प्राप्ती पनि चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना छ । ६६ किमी मध्ये नयाँपाटीदेखि चपलीसम्मको सडकको परामर्शदाता छनौट हुन बाँकी छ ।

यसमा परामर्शदाता छनौट गरी डीपीआरको काम थालिने गिरीले जानकारी दिए ।

आर्थिक वर्ष २०५५/०५६ मा बाहिरी चक्रपथको अवधारणा आएपनि यसलाई आर्थिक वर्ष २०६२/०६३ को बजेट बक्तब्यमा समाबेश गरियो । तर, अहिलेसम्म सडक निर्माणका लागि खोस्रने काम समेत हुन सकेको छैन ।

बाहिरी चक्रपथ निर्माण गर्न पहिलो चरणमा २७ किमी लम्बाइको डीपीपआर तयार गर्ने तथा परामर्श दाता छनोट गर्ने काम अघि बढाइएको थियो ।

यसका लागि उपत्यकाका तीनै जिल्लाका काँठ इलाकामा व्यवस्थित बस्ती बसाल्ने सरकारको योजना छ । ७१.३ किमीको यस्तो बाहिरी चक्रपथ निर्माणका लागि करिब ७२ अर्ब लागत लाग्ने मन्त्रालयको आंकलन छ ।

बाहिर चक्रपथको ७१.३ किमीमध्ये ६६ किमीको आर्थिक वर्ष ०६८/६९ मै डिपिआर तयार भइसकेको छ । तर, यस क्षेत्रका जनताले विरोध गरेपछि सरकारले काम अघि बढाउन सकेन । अहिले जनतामा व्यवस्थित शहरीकरणको मोह जागेकाले निर्माण सम्भव रहेको मन्त्री गिरीले बताए ।

बाहिरी चक्रपथलाई ५० मिटर फराकिलो बनाउने सरकारको योजना छ । ७१.३ किमीमध्ये चोभार सतुङ्गल खण्डको सडकमा सरकारले शिलान्यास गर्ने तयारी गरेको हो ।

चोभारदेखि हरिसिद्धिसम्म १०.९ सडकखण्डको मार्गचित्र बाँङ्गाटिङ्गो भएकाले कारणले पुनः डीपीआर गर्नुपर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ । हरिसिद्धिदेखि लुभुसम्मको ५ किमी सडकको डीपीआर २००८ मा तयार भएको हो ।

त्यस्तै लुभु श्रृजनानगरको ६ किमी र भातेढिकरोदेखि थलिछाडीको १०.९ को डिपिआर तयार भएको छ ।

f