भोलिको नेपाल बन्द सफल पार्न अपिल

असार २७ गतेको लागि आह्वान गरिएको एक दिने नेपाल बन्द सफल बनाउनको लागि नेकपाले सबैसँग अपिल गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी बन्दी बनाइएको विरोधमा सो पार्टीले एकदिने नेपालबन्दको घोषणा गरेको हो । साथै केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार लिम्बुलगायतहरुलाई पक्राउ गरी बन्दी बनाइएको भन्दै तत्काल विनाशर्त रिहाईको माग पनि गरेको छ । यसैबीच नेकपाका दाङ्ग सेक्रेटरी सविनले एक प्रेस विज्ञप्ति जारी गर्दै भोलिको बन्द सफल बनाउनको लागि यातायात व्यावसायी, उद्योगी व्यापारी, आम जनसमुदायसँग अपिल गर्नु भएको छ । यसैगरी रुपन्देहीका सेक्रेटरी शरद ओलीले पनि एक विज्ञप्ती जारी गर्दै बन्द सफल बनाउनका लागि सहयोगको लागि सबैसग अपिल गर्नु भएको छ । यस्तै लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले पनि सबैसँग बन्दको कार्यक्रम सफल पार्नको लागि सबैमा अपिल गर्नु भएको छ । पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले पनि राज्यको दमनकारी नीतिका विरुद्ध बन्द आह्वान गरिएको भन्दै सफल पार्न सहयोगको लागि सबैसँग अपिल गर्नु भएको छ । यस्तै नेकपा ओखलढुंगाले पनि बन्द सफल बनाउनको लागि सबैसँग अपिल गरेको छ । देशभरी नै नेकपाका विभिन्न तहका संगठनहरुले विज्ञप्ति जारी गर्दै बन्द सफल पार्न सबैमा आग्रह गरेको छ ।