मास्कले नथेग्‍ने राजधानीको धुलो

काठमाडौं : कलंकी-कोटेश्वर सडक निर्माणकार्य समयमै नसकिँदा दैनिक हजारौँ स्थानीयवासी, यात्रु र सवारी चालक धुलोको मारमा परेका छन्। सडक निर्माणका क्रममा डोजरले खनेको बाटोमा अध्याधिक धुलो उड्दा सडकमा सँगै गुडेका सवारी साधन एक अर्का चालकले नदेख्ने गरी छोपिन्छन्।

२०७२ वैशाखअघि नै यो सडक स्तरोन्नतिको काम सक्ने बताएको भए पनि नाकाबन्दी र भूकम्पका कारण आठ लेनको सडक निर्माणमा ढिलाई भएको हो।

चिनियाँ सरकारको सहयोगमा सांघाई कन्टस्ट्रक्सनले यो सडक निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ। कन्स्ट्रक्सनले कोटेश्वर, ग्वार्को हुँदै कलंकीसम्म १० किलोमिटर चक्रपथ स्तरोन्नतीको काम गरिरहेको छ।

पहिलो चरणमा कोटेश्वरदेखि एकान्तकुनासम्मको सडक पिच करिबकरिब सकिएको छ भने एकान्तकुनादेखि कलंकीसम्मको सडक निर्माणका लागि भत्काउने क्रम जारी रहेकाले सडक धुलाम्य बनेको छ।