मेसीको हयाट्रिकमा अर्जेन्टिना विश्वकपका लागि छनोट

अर्जेन्टिना विश्वकप २०१८ को लागि छनोट भएको छ ।  । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले इक्वेडरलाई ३–१ ले हरायो र विश्वकपको अन्तिम चरणका लागि स्वत: प्रवेश पाएको हो ।

त्यसमा मेसीले ह्याट्रिक गरे । दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष चार स्थानमा रहने टिमले अन्तिम चरणमा प्रवेश पाउनेमा अर्जेन्टिना तेस्रो स्थानमा रह्यो । अर्जेन्टिनासँगै छनोटको अन्तिम दिनको खेलपछि उरुग्वे र कोलम्बिया पनि विश्वकपमा छनोट हुन सफल रह्यो । अंक तालिकामा उरुग्वे दोस्रो तथा कोलम्बिया चौथो स्थानमा रह्यो ।

उरुग्वेले बोलिभियालाई ४–२ ले हरायो भने कोलम्बियाले पेरुसँग १–१ को बराबरी खेल्यो । पेरु भने पाँचौं स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो । दुई पल्टको कोपा अमेरिका विजेता चिली भने विश्वकप छनोटबाट बाहिरिएको छ । ब्राजिलले चिलीलाई ३–० ले हरायो । ब्राजिल यसअघि नै शीर्ष स्थानमा रहेर विश्वकपका लागि छनोट भइसकेको छ ।