राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमै उपचार हुन्छ

न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । यहाँ उपचार गराउन एक सय रुपैया भन्दा बढि शुल्क तिर्नु पर्दैन् ।

काठमाण्डौको मित्रपार्क चोकबाट गुह्येश्वरी हुँदै गएपछि कुमारीगालमा रहेको एउटा अस्पतालमा पुगिन्छ । बाँसबाट बनाईएको यो अस्पताल, वाहिरबाट हेर्दा कुनै कटेज होटल जस्तो चिटिक्क देखिन्छ । अझ, त्यसलाई चम्काउन गुलाबी रंग प्रयोग गरिएको छ । गेटबाट छिर्ने बित्तिकै दायाँतिर डाक्टरको सूची देखिन्छ । बायाँतिर टिकट काट्ने काउन्टर छ ।

तपाईलाई के रोग लागेको छ, काउन्टरमा भन्नुहोस् । काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जा थमाउँछन् ।

अब तपाईले विशेषज्ञ डाक्टरलाई देखाउन पैसा तिर्नुपर्छ ।

कति थाहा छ ?

जम्मा एक सय रुपैया ।

कस्तो पत्याउनै गाहे लाग्ने कुरा ।

हो, राजधानीको एउटा अस्पतालमा एक सय रुपैयाँमा नै रोगको उपचार हुन्छ ।

अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका पच्चिस जना विशेषज्ञ डाक्टर उपलव्ध छन् ।

बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ रमाईलो कुरा त, ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपांग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिदै आएको छ ।

न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान डराउँछन् । र शरिरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् ।

अस्पताल गएको असार २३ गतेबाट सञ्चालनमा आएको हो । अस्पतालले ओपीडी सेवा मात्र उपलब्ध गराउन सकेको छ । र, पनि दैनिक करिब २७ सय जना बिरामीले अस्पतालबाट सेवा लिईरहेका छन् ।

हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य यस अस्पतालका संरक्षक हुन् ।

र, यो कथा समता अस्पतालको हो ।