राजमोको संगठन निर्माण अभियान काठमाडौंमा सुरु

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्तिहरूले नेपाललाई अर्धसामन्ती र अर्धउपनिवेशिक अबस्था बाट छुटकारा दिनवाट वञ्चित गर्दै अाएकाे बताएका छन् ।
राजधानीको चन्द्रागिरि नगरपालिकास्थित सतुंगलमा राष्ट्रिय जनमाेर्चा काठमाडौ जिल्ला समितिकाे अायाेजनामा भएकाे १ महिने संगठनात्मक अभियान उद्घाटन गर्दै अध्यक्ष केसीले राष्ट्र र राष्ट्रियताका विषयमा नेपाली जनता चुपलागेर नवस्ने बताएका हुन् ।

अध्यक्ष केसीले नेपाली जनता भोकाए भनेर एमसिसी नआएको बताए । ‘नेपाली जनता भोकाए, नेपाली जनता अँध्यारोमा बसे भनेर एमसिसी आएको हो र ?’ उनले भने – ‘चीनलाई घेर्नका लागि अमेरिकाले एमसिसी अगाडि सारेको हो ।’

कार्यक्रमकाे सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले पछिल्लो समयमा चीन शक्तिशाली बन्दै गएकाले उसको प्रगतिलाई रोक्नका लागि इन्डो–प्यासिफिक रणनीति अगाडि सारिएको र त्यसैको एउटा अङ्गको रूपमा एमसिसी नेपालमा लागु गर्न खोजिएको बताए । ‘अमेरिकाको बजार चीनले खोस्दै छ, त्यसलाई रोक्नका लागि अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको हो’ उनले भने । ‘एनसेलले नै अर्बौं करछली गरेको छ, त्यही उठाए हुन्न ?’ उनले अगाडि भने– ‘देशभित्रको बेथिति, भ्रष्टाचार रोके त त्यही पैसाले देशको विकास गर्न सकिन्छ नि !, किन विदेशीका सामु हात फैलाउनुप-यो ?’

लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमणको बारेमा बोल्दै अध्यक्ष केसीले तीनवटा भक्तपुर जिल्लाबराबरको क्षेत्रफल भारतद्वारा अतिक्रमण हुँदा पनि नेपाल सरकार चुप रहेको बताए । ‘तीनवटा भक्तपुरमाथि भारतले १९६२ देखि कब्जा जमाइरहेको छ, यसमाझमा दुईदर्जनजति सरकार बनिसके’ उनले– ‘तर कुनै पनि सरकारले सीमा अतिक्रमणको विरुद्धमा पहलकदमी गरेनन् ।’ उनले छिमेकीले साँध मिच्यो भने झगडा गर्ने, उस्तै परे अदालतसम्म धाउने हामी नेपाली र त्यही समाजबाट आएको सरकारले सीमा अतिक्रमणबारे नबोल्नु दुःखको कुरा भएको बताए । उनले सरकारले अतिक्रमित जमिन फर्काउँछ भनेर चुपचाप बस्ने अवस्था नरहेको बताउँदै राष्ट्रियता, सार्वभौमिकता र भू अखण्डताको पक्षमा देशभक्त जनताले लगातार खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उद्घाटन समारोहलाई नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समिर सिंहले लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण होइन, भारतद्वारा नेपाली भूमि कब्जा नै भएको बताए । ‘सन् १९६२ देखि भारतीय सेना सीमा अतिक्रमण गरेर बसेकै थियो’ उनले अगाडि भने– ‘अहिले नक्सामा त्यो भूमि देखाएर भारतले घोषित रूपमा नेपाली भूमि कब्जा गरेको छ ।’ उनले यस्तो अवस्थामा पनि आवाज नउठाउनु ओली सरकारको दलाल तथा घुँडाटेकुवा नीति भएको दावी गरे ।

अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढा राष्ट्रिय जनमाेर्चा बागमती प्रदेश अध्यक्ष लालवहादुर थापा
राजमो काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेल्वासे, नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगत रेग्मी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
राष्ट्रिय जनमोर्चाले आजबाट देशब्यापी रुपमा एक महिने संगठनात्मक अभियानको प्रारम्भ गरेको छ । राजधानीलगायत धेरै जिल्लामा आजैबाट अभियानको सुरुवात भएको छ भने केही जिल्लामा एक दुई पछि अभियान प्रारम्भ हुने राजमोले जनाएको छ ।
देशको केन्द्र राजधानी रहेको जिल्ला काठमाडौंमा बृहत संगठन निर्माण गर्न शनिबार भृकुटीमण्डपमा जिल्ला भेलाले विस्तृत योजना बनाएको थियो । काठमाडौं महानगरसहित १० वटै नगरपालिकामा संगठन निर्माणको योजना तयार पारेको भएको राष्ट्रिय जनमाेर्चा बागमती प्रदेश अध्यक्ष लालवहादुर थापाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत काठमाडौंका १० वटै नगरपालिकाका वडाहरुमा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समितिहरु निर्माण गर्ने, विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका पार्टी समर्थकहरुलाई गोलबन्द गर्ने, स्थानीयस्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्ने लगायतका अभियान सञ्चालन गरिनेछ ।

अाजै राष्ट्रिय जनमाेर्चामा करिव ३ दर्जन भन्दा वढि नयाँ सदस्य पाटीमा प्रवेश गरेका थिए ।