राप्रपा नेता प्रधान, समाजसेवी अधिकारी र कराँते प्रशिक्षक श्रेष्ठलाई दुबईमा विशेष सम्मान

काठमाडौं, ९ असोज । रापपाका केन्द्रीय सदस्य एवं समाजसेवी देवेन प्रधान, लेखक तथा साहित्यकार माधव अधिकारी र फुलकन्टयाक्ट कराँतेका प्रशिक्षक पूर्णप्रसाद श्रेष्ठ सम्मानित हुनुभएको छ । सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा दुबईमा आयोजित विशेष कार्यक्रममा उहाँहरु सम्मानित हुनु भएको हो ।

दुबईमा आयोजित विशेष कार्यक्रममा उहाँहरुलाई कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल बलदेवले अवार्ड प्रदान गर्नुभएको थियो । राप्रपा नेताका अलावा समाजसेवी एवं यातायात विज्ञकोरुपमा चिनिनु भएका प्रधानलाई ‘आउटस्टेण्डिङ लिडरसिप एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

प्रधानको जन्म दिन पनि सम्मान समारोहका दिन नै जुरेकोले उहाँलाई जन्मदिनको शुभकामना प्रदान गर्दै मन्त्री खनालसहितको आयोजक टोलीले केक काटेर खुसी मनाएको थियो । यस्तै लेखक एवं समाजसेवी माधवप्रसाद घिमिरेलाई ‘वेष्ट राइटर एचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो ।

साहित्य र यातायातको सम्बन्धमा दर्जन बढी पुस्तक प्रकाशन गर्नुभएका घिमिरे लामो समयदेखि लेखन र समाजसेवाको क्षेत्रमा समर्पित हुनुहुन्छ । त्यसैगरी फुलकन्ट्याक्ट कराँतेमा साढे दुई दशक बढी समयदेखि समर्पित प्रशिक्षक एवं पूर्व राष्ट्रिय खेलाडी पूर्णप्रसाद श्रेष्ठलाई ‘कराते स्पोट्र्स कोच’ अवार्ड प्रदान गरिएको छ ।

अहिले नयाँ पुस्ताका खेलाडी जन्माउन सक्रिय श्रेष्ठ फुलकन्ट्याक्ट कराँतेका उम्दा र गनिएका प्रशिक्षकमा दर्जिएका पात्र हुन् । सम्मान समारोहमा अन्य विभिन्नि विधाका व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो ।