५५ दिनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गर्दै सरकार

सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । म्यादी प्रहरी भर्ना गर्ने प्रस्तावलाई निर्वाचन आयोगले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिने निर्णय गरेको छ । यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खाना÷खाजा खर्च उपलब्ध गराउने भएको छ ।

निर्वाचनका क्रममा कुनै म्यादी प्रहरी घाइते भएमा सरकारले उपचारका लागि नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक कार्यविधि २०६८ अनुसार बढीमा एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च दिने सरकारको निर्णय छ ।

यस्तै, निर्वाचनमा खटिनेक्रममा कुनै म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई १५ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ ।

सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने निर्णय गरेको छ । म्यादी प्रहरी भर्नाका लागि ‘म्यादी प्रहरी भर्ना छनोटसम्बन्धी मापदण्ड २०७४’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ नयाँ पत्रिकाले लेखेकाे छ ।