मौसमी चक्र अनुसार केहि न केहि चाडपर्व आउने गर्छ । जाडो याम अझ भनौ मध्य जाडोमा मकर संक्रान्ति मनाइन्छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ ।

कुनैपनि चाडपर्वसँग धार्मिक साइनो मात्र छैन, त्यसको खास बैज्ञानिक कारण पनि हुनेगर्छ । समयअनुकुल मानिसलाई कसरी बाँच्ने, कसरी रमाउने, कसरी प्रकृतिसँग एकाकार हुने भनेर यी चाडपर्वहरुले सिकाइरहेका हुन्छन् । त्यसैले कुनैपनि चाडपर्व विधिपूर्वक वा बुझेर मनाउनु राम्रो हो ।

बैज्ञानिक महत्व

पुष मासमा जब सूर्य मकर राशिमा आउँछ, तब यो पर्व मनाइन्छ । सूर्यले धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मकर संक्रान्ति मनाइने गरिन्छ । १४ जनवरीमा सूर्य मकर राशीमा प्रवेश गर्दैछ । यहि दिनदेखि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ ।

बाँढीचुडी खाने पर्व

जाडो महिनामा पर्ने भएकाले यो पर्वमा हामी कन्दमुल खाने गर्छौ ।

नेपाली समाजमा मकर संक्रान्तिको दिन छिमेकमा खानेकुरा बाँडीचुडी खाने गरिएको छ । यतिबेला अन्नउब्जनी नहुने भएकाले पनि यस किसिमको संस्कार बसाइएको हुनसक्छ ।

यतिबेला दान गर्ने प्रचलन पनि छ । दान गर्दा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास छ । खासगरी गरिब, निसाहय आदिलाई अन्न, तिल, गुड आदि दान गरिन्छ । संभवत यतिबेला खाद्य अभाव हुने भएकाले यस्तो संस्कार चलाइएको हुनुपर्छ ।

के खाने, किन खाने ?

तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे संक्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ ।

यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ ।

प्राकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । यतिबेला तिलको लड्डु लगायत मिठो परिकार खाइन्छ, जसले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ ।

सकारात्मक उर्जाको सुरुवात

शास्त्र अनुसार दक्षिणयनलाई देवताको रात्री अर्थात नेगेटिभ इनर्जीको प्रतिक मानिन्छ । जबकी उत्तराचयणलाई देवताको दिन अर्थात पोजेटिभिटीको प्रतिक मानिन्छ । यस दिन जप, तप, ध्यान, स्नान, श्रद्धा, तर्पण आदिको विशेष महत्व छ । य ििदन दान गर्नु सय गुणा दान बराबर मानिन्छ ।

मकर संक्रान्तिदेखि सूर्य उत्तरतर्फ आउन थाल्छ । अर्थात गर्मी मौसम सुरु हुन्छ । दिन लामो र रात कम हुन्छ । अन्धकार कम हुन्छ । सूर्यको प्रकाश तेज हुन्छ ।

प्रकाश अधिक हुने भएकाले प्राणिको चेतना र कार्यशक्तिमा वृद्धि हुन्छ ।

यो पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई आदि नदी तथा घाटमा स्नान, दान, श्रद्धा गर्ने चलन छ ।

Comments

comments