काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् । यस ठाउँको बखु खोला (इन्द्रमती खोला)को पूर्व उत्तरमा रहेको एक दोभानलाई बखु भन्दछन् । यो एक पीठ हो र यस पीठमा रहेको मुख्य देवीलाई विष्णुदेवी (वैष्णवी) भनी पूजी आएका छन् । यस देवीको वार्षिक जात्रालाई बखुमद जात्रा भन्दछन् ।

बखुमद

काठमाडौंको पश्चिमतिर शोभागवती र गुहेश्वरी नजिक अस्तमात्रिका मध्ये एक तान्त्रिक देवी ‘लुंटीअजिमा’ इन्द्रायणी देवीको पीठ रहेको छ । यस पीठमा बाला चतुर्दशीका दिन हवन् (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन्मा चढाउने गर्दछन् । एक साल होममा चढाएका मध्ये परेवा बाहिर उडी गएको र त्यही परेवा बसेको ठाउँलाई नै बखु भनेको हो । यसरी परेवा उडी कीर्तिपुरतिर गएदेखिन त्यहाँ परेवा बली दिन छाडेका छन् । ‘बखु’ भनेको परेवा हो । परेवा खोज्दा खोज्दा भेटाउन नसकेकोले परेवा पाएन भनेकै नेवारीमा बखु मदु भनेको र त्यसको अपभं्रस भई ‘बखुमद’ भनी आएको हो । हाल यस ठाउँलाई बल्खु भनी आएका छन् । आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, आदि अष्टमात्रिकाको पूजा गरी यस बखुमद जात्रा मान्ने गर्दछन् ।

पाँगा

यी सात गाउँ मध्ये एक हो पाँगा । यसको बस्ती कहिलेदेखि भयो भन्ने जानकारीमा नआएपनि रत्न मल्लले कीर्तिपुरको दक्षिण भेगमा अरुले लुटपाट गरेकोलाई सुरक्षा दिन पालो राख्नको लागि ने.सं. ६२१ मा बस्ती व्यवस्थित गरेको र त्यसको संरक्षणको लागि भाजँगालमा विष्णुदेवी स्थापना गरेको भन्ने पाइन्छ । नेवारीमा पालो बस्नेलाई ‘पा च्वनी गु’ भन्दछन् । पालो बस्ने गाउँ भएको हुँदा ‘पाँगा’ भन्ने गरेको पाइएको छ ।

जात्रा पर्व

यस गाउँको विष्णुदेवी र बालकुमारी मुख्य देवता भएकोले वर्षको एकचोटी खटमा विराजमान गराई पूजा आजा गरी गाउँ परिक्रमा गराई स्थानीय जात्रा मनाउने गरी आएका छन् । पहिले पहिले गाउँमा परिआएको सबै कार्यहरु गुठी मार्फत् गठियारहरु मिली चलाउने गर्दथे । हाल आएर गाउँ विकास समिति, नगरपालिकाहरु गठन भएपछि विकास निर्माणका कार्यहरु स्थानीय निकायले संचालन गर्ने गरिआएका छन् । तापनि गाउँमा परी आउने जात्रा पर्वहरु र अन्य कार्यहरु गुठीहरुले चलाउने गरिआएका छन् । यस पाँगामा पाँच वटा गुठीहरु छन् : श्रेष्ठहरुको गुठी ह्वङ्काली गुठी, महर्जनहरुको १) श्रीभैरव नाथ तःगुठी, २) श्रीभैरव आजु सिकुछेँ गुठी (चिः गुठी), ३) पुखुसी गुठी (द्येः गुठी) र खड्गीहरुको खड्गी गुठी हुन् । गाउँको जात्रा पर्वमा गुठीहरुले आ–आफ्नै किसिमको कार्यहरु गर्दै आइरहेका छन् । पाँगाको भाजँगालमा विष्णुदेवी र दिउखेलमा बालकुमारीको गरी दुई वटा पीठहरु छन् । पाँगाको मुख्य चोक लाछीमा मन्दिर बनाई यी दुई पीठबाट देवता साधना गरी स्थापना गरी नित्य पूजा गरी आएका छन् । यही देवी र कुमारीलाई खटमा राखी गाउँ परिक्रमा गराई जात्रा मनाउने गरी आएका छन् । नेपाल सम्बत्को महिना थिंल्लाथ्व चौथी देखिन् यस जात्राको लागि आवश्यक व्यवस्था मिलाउने गर्दछन् । सुरुमा बालकुमारीको हवन् पूजा गर्नलाई मण्ड म्य् अर्थात् राँगोको व्यवस्था गर्ने गर्दछ । यसको लागि खड्गी गुठीले छान्न मिल्ने गरी दुई/तीन वटा राँगोको व्यवस्था गरी राखेको हुन्छ । महर्जन गुठीका थकाली र नाईकेहरु मिली कहिँ घाउ खट नभएको राँगो छान्ने काम गर्छन् र थकाली आजुले मञ्जुर गरेको राँगोलाई गुठीमा लगी राख्ने गर्छन् । यसै दिन भेलुः अर्थात् भैरव भनेर पूजा गरी घ्याम्पोमा बाक्लो जाँड भेलुः पकाउने गर्छन् । यो भेलुः चार दिनमै पाक्छ । यसै थिंल्लाथ्व षष्ठीका दिन भोलि सप्तमीदेखि जात्रा पर्वलाई चाहिने सामान व्यवस्था गर्न गुठीमा गुठियारहरु भेला भई आवश्यक काम कुरा गर्छन् । सप्तमीको दिनलाई ‘छ्वेला भू’ भन्दछन् । खाजा खान मासु पोलेको हुन्छ, पोलेको मासुलाई छ्वेला र सबै मिली लाइन बसी खानेलाई ‘भू छुइगु’ भन्दछन् । यसैलाई छ्वेला भू भनिएको हो । छ्वेला भूको दिनदेखि आवश्यक काम गर्न महर्जनहरुको गुठीबाट चौबीस जना चिरीपाहरुलाई काममा खटाएको हुन्छ । यस दिन बेलुकी महर्जनहरुको गुठीले मण्ड म्य् राँगोका साथ दिउखेलको बालकुमारीमा पूजा र हवन् गरी मण्ड म्य् बली चढाउँछन् । मण्ड म्य् बली दिने चलनको पनि एउटा किम्बदन्ती रहेको छ । पहिले पाँगा देउखेलको बालकुमारी परिसरमा मशान थियो । एक समय पाँगामा दिन दहादै मानिसहरु गायव हुन थालेछ र यो कसरी भयो भनेर ज्योतिषीलाई देखाउँदा बालकुमारीको वरिपरि रहेका गणहरुले जीउँदो मान्छेको रगत पिउने गरेको थाहा पाए । अनि क्षमा पूजा गरेर वर्षको एक दिन सप्तमीको दिन जीउँदो राँगाको तातो रगत खुवाउने कवुल गरेर यो मण्ड म्य् बली दिन थालेपछि मान्छे हराउन बन्द भयो । त्यसबेलादेखि अहिलेसम्म थिंल्लाथ्व सप्तमीको दिन मण्ड म्य् बली दिने परम्परा रही आएको छ । यसै राँगा बली दिनेलाई ‘मण्ड म्य् स्यागु’ भन्दछन् । यसरी बली दिएका जीउँदै राँगाको रगत थापेर बालकुमारी मन्दिर परिसरमा रहेका गण देवताहरुलाई चढाइन्छ । जसमा गंगाको मूर्तिलाई सेतो कपडाले छोपेको हुन्छ त्यसपछि राँगाको कलेजो झिकेर एउटा घैंटोमा राखिन्छ जसलाई ‘हि क्वँ’ अर्थात् रगतको घ्याम्पो भनिन्छ । त्यस्तै थ्वक्वँ (जाँडको घ्याम्पो) पनि राखेर बालकुमारीको पुजा गरिन्छ ।यसरी पूजा सकेपछि उक्त मण्ड म्य्को मासु गुठीहरुले भाग लगाई लाने गर्दछन् । त्यही प्रसाद भित्र्याएदेखि गुठीमा जात्रा पर्व सुरु हुन्छ । बालकुमारीको पूजा सकिएपछि पाँगा लाछीमा बालकुमारी र विष्णुदेवीको लागि खट राखिएको हुन्छ । श्रेष्ठहरुको गुठीले आवश्यक ह्वन पूजा गरी मन्दिरबाट देवता खटमा ल्याई विराजमान गराउँछन् । त्यसै बेलुकी खट सहितको बालकुमारी दिउखेलमा लान्छन् । विष्णुदेवीको खटलाई भने भोलिपल्ट साँझमा मात्र लाछीबाट भाजँगाल विष्णुदेवी मन्दिरमा पु¥याइन्छ । त्यहाँ श्रेष्ठ गुठीले ह्वन पूजा गरी प्रसाद खुवाउने गर्दछन् । यस दिनलाई ‘मु या’ भन्दछन् । पाँगादेखि बाहिर भाजँगाल, चोभार, इटागोल, आदिका बासीले यस दिन पूजा आजा गरी पाहुना बोलाई जात्रा मनाउने गर्दछन् । नवमीको दिन मुख्य जात्रा ‘सिन्हया’ भन्दछन् । पाँगाको द्यःचपा (देवता राख्ने ठाउँ)मा विहान सवेरै दिउखेल र भाजँगालबाट देवता सहितको खट ल्याई राखेको हुन्छ । यस दिन विहान प्रत्येक घरबाट पूजा आउने गर्दछन् । विहानको ११–१२ बजेतिर द्वारेको व्यवस्था भएको बेलामा द्वारे पूजा र हाल आएर नगरपालिकाबाट टोल टोलको पालो गरी पूजा आउने गर्दै आएका छन् । यो सरकारी पूजा गरी प्रसाद सिन्दुर लगाई दिएको हुन्छ । यसैले यस दिनलाई ‘सिन्ह जात्रा’ अर्थात् सिन्दुर जात्रा भन्दछन् । यो पूजा सकेपछि दुवै खट उठाई धिमे बाजा, काँहाँ बाजा र नासिं बाजा बजाई गाउँ परिक्रमा गराइन्छ । प्रत्येक घरले खट आफ्नो घर अगाडि पुगेपछि पूजा गर्ने गर्छन् । करिव साँझ ५÷६ बजे लाछीमा देवताको खट पुगेको हुन्छ त्यसपछि पुनः देवीहरुलाई मन्दिरमै लगी विराजमान गराउँछन् । यसरी पाँगामा नवमीका दिन खट जात्रा गर्छन् भने नगाउँमा अष्टमीकै दिन बालकुमारीमा बेलुकी पूजा गरी मनाउँछन् । कीर्तिपुर र अन्य स्थानमा दशमीका दिन मुख्य जात्रा मनाउने गर्दछन् । यसरी सात गाउँलेले बखुमद जात्रा मनाउने गरी आएका छन् ।यो जात्रा पर्वमा ललितपुरको कर्माचार्यहरुद्वारा हवन् पूजा गर्छन् । यो कीर्तिपुर एरिया पहिले ललितपुर इलाका भएको र ललितपुरका तत्कालीन राजा रत्न मल्लले बस्ती व्यवस्थित बसाएको भन्ने भनाईसँग यो पाँगाको जात्रा पर्व सम्बन्धित भएको देख्न आएको छ ।यो स्थानीय जात्रालाई सात गाउँलेहरुले बडो हर्षका साथ आफन्त र साथीभाईहरुलाई पाहुना बोलाई भव्य रुपमा मनाउने गरी आएका छन् । यो समय फुर्सदिलो र रमणीय भएकोले पाहुनाहरु पनि आई रमाई रमाई जात्रा मनाई जाने गर्दछन् ।

अर्जुन महर्जन
Chandragirinews rocky सात गाउँले बखुमद जात्रा र पाँगा तस्विरमा इतिहास ब्रेकिंग न्युज मुख्य संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad सात गाउँले बखुमद जात्रा र पाँगा तस्विरमा इतिहास ब्रेकिंग न्युज मुख्य संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad सात गाउँले बखुमद जात्रा र पाँगा तस्विरमा इतिहास ब्रेकिंग न्युज मुख्य संस्कृत    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments