सुरू भयो रातो मच्छिन्द्रनाथको जात्रा


वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको उत्सवले अहिले पाटन सहर जात्रामय उल्लासमा मस्त छ । खडेरी प्रकोपको अर्को प्राकृतिक पीडा खेप्न बाध्य उपत्यकावासी रथ जात्राको सुरुआतसँगै वर्षाद्को आगमनले प्रफुल्लित बनेका छन् । गत वर्षको भूकम्पले भत्किएका, चर्किएका र टेकोले अड्याइएका पाटनका घर, टोल, गल्लीमा रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्राको सांस्कृतिक उत्सवको उमङ्ग छ । रथलाई जावलाखेलमा पु¥याइ भोटो देखाइएपछि मात्रै जात्राको उत्सव वर्ष दिनका लागि सम्पन्न हुनेछ ।

रातो मच्छिन्द्रनाथ सहकालीन वृष्टि देवताका रूपमा प्रसिद्धि प्राप्त देवता हुन् । यस रथजात्रालाई नेपालमा सबैभन्दा लामो समयसम्म रहने जात्रा मानिन्छ । मच्छिन्द्रनाथलाई करुणामयका रूपमा पुजिने परम्परा छ । प्राणी मात्रको कल्याण गर्ने देवताका रूपमा पुजिने हामीकहाँ यस्ता चार वटा करुणामय लोकेश्वर छन् । त्यसमध्ये पाटनको रातो मच्छिन्द्रनाथ, काठमाडौँको सेतो मच्छिन्द्रनाथ, कीर्तिपुरस्थित चोभारको आदिनाथ र नालाको सृष्टिकान्त लोकेश्वर हुन् । यस जात्रामा पाटनकी श्रीकुमारीको उपस्थितिसमेत अनिवार्य हुन्छ । प्रत्येक वर्षको जात्रामा श्रद्धालुको उर्लिंदो सागरले जात्रालाई जीवन्तता प्रदान गर्दै आएको छ । त्यसैले यो जात्रा उपत्यकाका अन्य प्रसिद्ध जात्रामध्ये अग्रणी मानिन्छ ।

यस जात्रामा आफ्नै किसिमको सांस्कृतिक संस्कारयुक्त रमझम आजसम्म जीवितै छ । परम्परागत धिमेबाजा, काहाबाजा, झ्याम्टा, नगरा र बाँसुरीको साङ्गीतिक प्रवाहमा जात्रालुहरू उमङ्गले उत्तेजित हुन पुग्छन् । आफ्ना छरछिमेक, नलनाता बीचको आत्मीयता र घर–परिवारमा भोजको भव्य आयोजनाले पारिवारिक मिलनोत्सवको रूप लिन्छ । त्यसैले यस जात्राले धार्मिक र सांस्कृतिक एकताको भावनाका साथै जीवन–पद्धतिमा जीवन–दर्शन प्रदान गरी गतिशीलता कायम राख्ने पनि विश्वास गरिन्छ ।

समय परिवर्तनका कैयौँ मोडमा मच्छिन्द्रनाथको रथजात्राले सांस्कृतिक पहिचान गुमाएको छैन । विकृतिको मारमा परी विरूप पनि भएको पाइँदैन । बालपुस्ताको रमझम त रोमाञ्चक हुने नै भयो । त्यसमाथि होस्टे र हैँसेको उत्साह एवं जाँगर उमार्ने साङ्गीतिक सुसेलीले सबैलाई युवा उमङ्ग प्रदान गर्छ । यी सबै प्रतिक्रिया र प्रभाव यही जात्राप्रतिको सामूहिक सद्भावका साक्षात् प्रमाण पनि हुन् ।

यो जात्रामा वर्ग र जातको कुनै भेद नभए पनि रथ बनाउनेदेखि रथ चलाउनेसम्मको कामको वर्गीकरण गरिएको हुन्छ । रथजात्रासँग सम्बद्ध व्यक्तिले जात्रामा कडा नियमको परिधिमा बस्नुपर्छ । जथाभावी खान नहुने, कसैलाई छुन नहुने, दिनदिनै नुवाइधुवाइ गरी चोखो रहनुपर्ने तथा लुगा पनि विशेष किसिमको लगाउनुपर्छ । रथजात्रामा कुनै किसिमको बिघ्नबाधा नहोस् भनी पुल्चोकमा मच्छिन्द्रनाथ सम्मुख गाईदान गरिने परम्परा छ । रथजात्रा निर्बिघ्न सम्पन्न होस् र मृतात्माहरूले सजिलै वैतरणी नदी तरुन् भन्ने कामनाका साथ पाटनका मल्ल राजाहरूको सन्तती मानिने व्यक्तिले राजोपाध्यायलाई गाईदान दिने गर्छन् ।

रातो मच्छिन्द्रनाथ जात्राको सुरुआत
(पुल्चोकमा रातो मच्छिन्द्रनाथ र चकःबहीमा मीननाथको) रथ निर्माणसँगै भएको मानिए पनि बुङ्मतीमा ‘खिचाबु’ भनी कुकुरलाई सिङ्गै राँगाको मासु पकाएर खुवाएपछि जात्राको चहलपहल शुभारम्भ भएको मानिन्छ । गुठी संस्थानले उपलब्ध गराउने खर्चका आधारमा स्थानीय गुठियारले पकाएर खुवाएपछि जात्राको सुरुआत हुने परम्परा छ । रातो मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनपश्चात् पुल्चोकबाट गाःबहालसम्म रथलाई तानेर पु¥याएपछि रथ परिक्रमाको सिलसिलाले गति लिन्छ । यसैदिन मच्छिन्द्रनाथकै जस्तो तर केही सानो मीननाथको रथलाई चकःबहीबाट तानेर पुल्चोकसम्म पु¥याइ सोही जात्रामा सम्मिलित गराइन्छ । जात्राको सुरुमा मीननाथलाई मच्छिन्द्रनाथभन्दा अघि–अघि तानिए पनि पछिल्लो दिनदेखि मच्छिन्द्रनाथको पछि–पछि लगाएर जात्राको अन्तिम दिनसम्म सहभागी गराउने चलन छ । यसरी जात्रा सुरु भएको पहिलो रात गाःबहालबाट रथलाई राति बसाउने गरिन्छ । त्यसपछि सुनधारामा राखिन्छ । सुनधाराबाट लगनखेलमा रथलाई रात बसाउन पु¥याइन्छ । त्यसपछि रथको टुप्पोबाट नरिवल खसाल्ने जात्रा तथा अर्को दिन बिहानै महिलाले मात्रै रथ तान्ने जात्रा हुने गर्छ । लगनखेलको थटीटोलबाट जावलाखेलसम्म साइत नहेरी रथ तानिँदैन । जावलाखेलमा रथ पु¥याएको चौथो दिन भोटो देखाएपछि वर्ष दिनसम्मका लागि जात्रा सिद्धिन्छ ।

यस किसिमको परम्परा रहेको र खडेरीको अन्त्यका लागि भक्तपुरका राजा नरेन्द्रदेव, ललितपुरका किसान ललित ज्यापू र काठमाडौँका तान्त्रिक बन्धुदत्त भारतको कामारू कामाक्षा गई तान्त्रिक शक्तिका आधारमा रातो मच्छिन्द्रनाथलाई नेपालमा ल्याएका थिए । बाह्र वर्षसम्मको खडेरीलाई अन्त्य गरी वर्षा ल्याउने देवताका रूपमा मच्छिन्द्रनाथलाई त्यसपछि ललितपुरमा मन्दिर बनाएर प्रतिस्थापन गरी सम्मानले राखियो । ललितपुरको दुई स्थानमा छ–छ महिनाको अन्तरमा रहने गरी मन्दिर निर्माण पनि भयो । सोहीअनुसार ललितपुरको बुङ्मतीस्थित इखाटोलमा दक्षिणायन र तःबहालमा उत्तरायणमा छ महिना मच्छिन्द्रनाथलाई राखिने गरिन्छ । यही कार्यका लागि दुई स्थानमा मन्दिर बनाएर मच्छिन्द्रनाथलाई विराजमान गराइने व्यवस्था गरियो । ललितपुरमै मच्छिन्द्रनाथलाई राखिए पनि रथजात्राको पहिलो निम्तो भक्तपुरका राजालाई दिइने चलन चल्यो । आज पनि ललितपुर गुठीबाट ताडपत्रमा निम्तो लेखी भक्तपुरको गुठीलाई पठाइने गरिन्छ । सो निम्तोका आधारमा भक्तपुरबाट राजप्रतिनिधिका रूपमा तरबार नआई यहाँ जात्रा प्रारम्भ गरिँदैन ।

यसै जात्रासँग रत्नजडित भोटोजात्राको आकर्षण पनि जोडिन्छ । यसलाई जात्राको अर्को महŒवपूर्ण पाटोका रूपमा लिन सकिन्छ । जात्राको अन्तिम पर्वका रूपमा रथको चारै दिशाबाट तीन पटक भोटो देखाइने परम्पराको पनि आफ्नै विशेषता छ । यस दिन उपत्यकामा सार्वजनिक बिदा दिइने परम्परा छ । यसरी राष्ट्रिय पर्वका रूपमा मनाइने रथजात्राको अवसरमा रथ रहेका स्थानमा हरेक साँझ–बिहान श्रद्धालु भक्तजनले भेटीसहित पूmल–अक्षता चढाउने, धूपदीप बाल्ने गर्छन् । यसले पारिवारिक सुख, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ ।
साभार: ज्ञानेन्द्र विवश(गोरखापत्र)
फोटो सोन्जय: photographerchandra


Comments

comments