यम पञ्चकको पहिलो दिन अाज काग तिहार

चन्द्रागिरि ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपन्चक यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो ।

यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ ।

यसैगरी दोस्रो दिन भोली भैरवको बहानका रुपमा परिचित कुकुरको पूजा गरिन्छ । त्यस्तै औँसीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दिपावलीका साथ लक्ष्मी पूजा गरिन्छ ।

तिहारको चौथो दिन गोबर्धन र दैत्यराज बलीको पूजा गरिन्छ । यस दिन नेवार समुदायले म्हः पूजा पनि गरिन्छ । पाँचौ अर्थात यमपन्चकको अन्तिम दिन दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाई भाइ टीका गरिन्छ ।

नेपाल पन्चाङ्ग निर्णयक समितिका अनुसार यसपटक भाइटीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।