न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा


काठमाडौं : चौथो एनएसटी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा शिवम् न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको महिलातर्फको लिग खेलमा न्यु डायमन्ड र आर्मीले समान ३-० को सोझो सेटको नतिजा निकाले ।

पहिलो खेलमा न्यु डायमन्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-६,२५-१६, २५-१५ को सेटमा हरायो । अर्को खेलमा आर्मीले पद्मोदय युथ क्लब चितवनलाई २५-१०,२५-७, २५-१३ को सेटमा पराजित गर्‍यो । समूह ए मा रहेका दुवै टोलीले समान ६ अंक बनाएका छन् । बुधबार न्यु डायमन्ड र आर्मीबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । महिलाकै समूह बीबाट एपीएफ ६ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।

यसैगरी पुरुषतर्फको खेलमा सफलता हात पार्दै हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ र आर्मीले समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेका छन् । हेल्प नेपालले पश्चिमाञ्चल क्षेतीय भलिबल संघलाई २५-१२, २५-२३, २५-१४ को सोझो सेटमा हरायो । पुलिसले काभ्रे जिल्ला भलिबल संघलाई २५-१४, २५-१४, २५-९ को सेटमा हरायो । एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१५, २५-१२, २५-१४ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार पाउनेछन् । र उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


Comments

comments