अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्डलाई ३-२ ले हराउँदै एपीएफ च्याम्पियन

विभागीय टोली एपीएफले पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि जितेको छ। सोमवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३–२ ले हराउँदै एपीएफ च्याम्पियन बनेको हो।

नेपागन्ज कभर्डहलमा न्यू डायमण्डले पहिलो सेटमा २५–१२ को सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो। त्यसपछि खेलमा फर्केको एपीएफले दोश्रो र तेश्रो सेट क्रमश: २५–२१ र २५–१६ ले जित्दै २–१ को अग्रता बनाएको थियो। चौथो सेटमा न्यू डायमण्डले पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्दा खेल २-२ को रोमाञ्चक स्थितीमा पुग्यो।

रोमाञ्चक बनेको अन्तिम सेटमा न्यू डायमण्ड दुई पटक म्याच प्वाइन्टमा पुगेर पनि चुकेपछि खेल एपीएफले १९–१७ ले जित्यो।

रोमाञ्चक बनेको फाइनलमा न्यू डायमन्डकी प्रतिभा माली एक्लैले ५४ अंक जोडेकी थिइन्। तर टिमलाई उपाधि जिताउन सकिनन्। त्यसैगरी मञ्जु गुरुडले १८ अंक जोडिन्। एपीएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिईन्।

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। यसैगरी प्रतिभा माली उत्कृष्ट स्पाइकर, न्यू डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, न्यू डायमन्डकै कृपा अधिकारी उत्कृष्ट सेटर, एपीएफकी नेबिका चौधरी उत्कृष्ट सर्भर र एपीएफकै हिरा केसी उत्कृष्ट ब्लकर भइन्।

प्रतियोगिताको विजेता टोली एपीएफले २ लाख, उपविजेता न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार पायो। बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशील कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, आयोजक कमिटी अध्यक्ष टिएस ठकुरी लगायतले प्रदान गरे।

फागुनको ३ देखी सुरु भएको प्रतियोगिताको पहिलो टोलीको पुरस्कार सुशील कोइराला प्रतिष्ठानले प्रायोजन गरेको थियो। प्रतियोगितामा दुई विदेशी सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।