अस्ट्रेलियामा जेस्सिज इन्टरन्यास्नल बोर्डिंग स्कूलका बिद्यार्थी अभिनव शाक्यलाई स्वर्ण

काठमाडौं । सितु सिंह मास्के र अभिनव शाक्यले अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । आइतबार क्यारेरा इन्डोर स्टेडियममा भएको सातौँ गोल्डकोस्ट ओपनको दोस्रो दिन सितुले फाइटतर्फ कलर बेल्ट ४६ केजीमुनि स्वर्ण जितेकी हुन् । सितुले फाइनलमा अस्ट्रेलियाकी एमि लिलाई १२–३ को स्कोरले हराउँदै सहजै स्वर्ण आफ्नो बनाइन् ।

सितुले पहिलो दिन कांस्य जितेकी थिइन् । सेमिफाइनलमा भने सितुले न्युजिल्यान्डकी ग्रेस फिटजालेनलाई हराउँदै फाइनलको यात्रा तय गरेको प्रशिक्षक कुमार लामा घिसिङले जानकारी दिए । अभिनवले आइतबार कलर बेल्टकै ४७ केजीमुनिको फाइनलमा अस्ट्रेलियाका ट्रोए विलियम्सलाई ९–४ को स्कोरले हराउँदै स्वर्ण जितेकी थिए ।

त्यसअघि सेमिफाइनलमा अभिनवले जर्मनका ट्रिटन सासलाई स्तब्ध बनाउँदै स्वर्णको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । अभिनवले शनिबार पुम्सेमा स्वर्ण जितेका थिए । आइतबार नेपालले थप ३ स्वर्ण जितेको छ । फाइटमा पुरुष ४५ केजीमुनि विधान श्रेष्ठले स्वर्णपदक जित्न सफल भए ।

५१ केजी तौलसमूहमा पनि दिपेश खत्रीले नेपाललाई स्वर्णपदक दिलाउन सफल भएको प्रशिक्षक बब्लु सिवाकोटीले जानकारी दिए । महिलातर्फ १२औँ सागमा रजतपदक विजेता रेजिना कार्कीले ब्रेकिङले स्वर्ण जित्न सफल भएको प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए । शनिबार रेजिनाले फाइटमा कांस्य जितेकी थिइन् । पुरुषकै ६३ केजी तौलसमूहमा सरमुला मियाँले रजत पदकमै चित्त बुझाए ।