नेपालद्वारा युएई ४ विकेटले पराजित

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली युएईलाई ४ विकेटले पराजित गरेको हो ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।

खराब सुरुवात गरेको नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले अविजित ४७ रन जोडे । यस्तै पवन सर्राफले १८ रन जोडे ।

युएईविरुद्ध नेपालले पहिलो ओभरमै ओपनर तथा कप्तान पारस खड्कालाई सुन्य रनमा गुमाएको थियो । यस्तै प्रदिप ऐरीलाई ८, उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ र सन्दीप जोरालाई सुन्य रनमा गुमाएको थियो । तर, दिपेन्द्र र पवनले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं विकेटका लागि दिपेन्द्र र पवनले रनको साझेदारी गरेका थिए ।

युएईका लागि सुल्तान अहमेदले २ विकेट लिए । यस्तै मोहमद नाभिद,अमिर हायत र इमरान हेदर र जाहोर खानले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

नेपालको बलर चम्किएको खेलमा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २/२ विकेट लिए ।

यो जितसंगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अब नेपालले आइतबार घरेलु टोलीसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।