नेपाल केन्याविरुद्ध विजयी, आरिफ र रोहितको निर्णायक पारी

जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको चौथो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराउन सफल भयो । निर्धारित ५० ओभरमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम ओभरमा पुरा गर्‍यो ।

नेपालको टप अर्डर आज पनि क्रिजमा जम्न सकेन । डेब्यु गरिरहेका अनिल शाह आफूले खेलेको पहिलो बलमै आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल ९ रन बनाएर पभेलियन फर्के । दिपेन्द्र ऐरी १ रनमा आउट भए भने शरद भेषावकरले १९ रनको योग्दान दिएका थिए ।

कप्तान पारस खड्काले आज पनि आक्रामक इनिङ खेल्दै ४४ बलमा ४२ रन बनाएका थिए । तर रोहित पौडेल र आरिफ शेखले अन्त्यमा समझदारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डोर्‍याए । आरिफले ४२ रन बनाए भने रोहितले ४७ रन बनाए । आरिफ ४९ औं ओभरमा आउट भए भने रोहित अन्तिम ओभरमा आउट भएका थिए ।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रहेको थियो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरे । १० ओभरमा ५ मेडेनका साथ २० रन खर्चिँदै उनले ५ विकेट लिन सफल भएका थिए ।

केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र कप्तान पारस खड्काले एकएक विकेट लिन सफल भए ।

ब्याटिङतर्फ केन्याका ओपनर इर्फान करिमले सर्वाधिक ४२ रन बनाए भने ओबान्डाले ४१ रन जोडेका थिए । त्यसबाहेक मिडल अर्डरका कोलिन्स ओबोयुले २७ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् ।