नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण फुटबल हुने

चन्द्रागिरि ।

नेपाल र बंगलादेशबीच हुने मैत्रिपुर्ण फुटबल खेलका लागि १ हजार ४ सय टिकट बिक्रि गरिने भएको छ । एएफसी अण्डर २३ फुटबल च्याम्पियनसिपको छनोट खेल्ने तयारीमा रहेको नेपालले घरेलु भूमिमा आगामी मंगलबार बंगलादेशसँग मैत्रिपुर्ण म्याच खेल्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलका लागि साधारणतर्फ १ हजार २ सय र भीआईपीतर्फ २ सय टिकट मात्र वितरण गरिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साधारणतर्फको टिकट मूल्य ५ सय र भीआईपीतर्फको टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । टिकेटिङ पार्टनर ई–सेवाले भोली दिउँसो ३ बजेपछि टिकट बिक्रि वितरण गर्ने एन्फाले जनाएको छ ।  एएफसी च्याम्पियनसिप छनोटको तयारीका लागि अहिले २८ जना खेलाडी प्रारम्भिक प्रशिक्षणमा छन् । त्यसमध्ये अन्तिम २३ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउनेछन् । संयुक्त अरब इमिरेट्समा हुने समुह डीको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले असार ३१ गते घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी नेपालले साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट हुनेछ ।