बार्सिलोना-रियल म्याड्रिड भिडन्त आज

म्याड्रिड : विश्व क्लब फुटबलमा दुई स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तको आफ्नै महत्व छ । विश्वभरका लाखौं फुटबलप्रेमीको ध्यान तान्न सफल यी दुई महारथीबीचको भिडन्तले स्पेनिस ला लिगामा त झनै ठूलो अर्थ राख्ने गर्छ । जारी सिजनको ला लिगा तालिकामा हालसम्मको अंकको जोड—घटाउलाई हेर्ने हो भने त यी दुई टोलीबीचको आगामी भिडन्त झनै रोचक हुने सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै परिवेशबीच शनिबार साँझ रियल म्याड्रिड र बार्सिलोना ‘एल क्लासिको’ भिडन्तका लागि मैदानमा ओर्लंदै छन् । रियल म्याड्रिडको मैदानमा खेलिने उक्त भिडन्तमा एकातिर घरेलु टोली आफ्नो चिरप्रतिद्वन्द्वीलाई पराजयको स्वाद चखाउँदै अंक दूरी घटाउने अभियानमा हुनेछ भने अर्कोतिर ‘लिग लिडर’ बार्सिलोना सिजनको मध्यतिर नै रियल म्याड्रिडसँग ठूलोअन्तरको अग्रता लिने प्रयासमा रहनेछ ।

हालसम्म १६ खेल खेलेको अर्जेन्टिनी स्टार लियोनल मेसीको टोली बार्सिलोना ४२ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने एक खेल कम खेलेको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको टोली रियल म्याड्रिड ३१ अंकहित तालिकाको चौथो स्थानमा आसीन छ । हाल यी दुई टोलीको बीचमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ३६ र तेस्रो स्थानमा आसीन भ्यालेन्सियाको ३४ अंक छ । एट्लेटिको र भ्यालेन्सिया दुबैले १६÷१६ खेल खेलिसकेका छन् ।

विश्व फुटबलमा ‘एल क्लासिको’ भिडन्तको आफ्नो विशेष महत्व त छँदैछ तर, शनिबार साँझ हुने भिडन्त भने रियल म्याड्रिडका अर्का प्रभावशाली खेलाडी गारेथ बेलका लागि अझ ठूलो परीक्षाको क्षण सावित हुनेछ । ‘इन्जुरी’ समस्याका कारण जारी सिजनमा क्लबका लागि आशातित प्रदर्शन गर्न नसकेपछि २८ वर्षीय यी अनुभवी खेलाडी पछिल्लो केही समययता समर्थकमाझ आलोचित पनि बन्दै आएका छन् ।

वेल्सको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य बेलले इन्जुरी समस्याका कारण जारी सिजनको अधिकांश समय मैदानभन्दा बाहिरै बिताएका छन् । पटकपटक स्वास्थ्य समस्याले पिरोलेपछि उनको क्लब रियल म्याड्रिडसमेत बेललाई बिक्री गर्ने योजनामा अघि बढ्ेको गाइँगुइँ पनि सुनिन थालेको छ । त्यसैले पनि शनिबार साँझ हुने ‘एल क्लासिको’ भिडन्त बेलका लागि आफूलाई प्रमाणित गर्ने उपयुक्त अवसर बन्न सक्छ । समग्रमा भन्नुपर्दा व्यावसायिक फुटबलमा बेलका लागि यो निराशाजनक सिजनको रूपमा दरिन पुगेको छ ।

रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान अझै पनि बेलप्रति आशावादी देखिँदै आएका छन्, यद्यपि शनिबारको ‘एल क्लासिको’ मा उनले बेललाई अवसर दिन्छन् वा दिँदैनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । जारी सिजनमा क्लबका लागि १२ खेल खेलेका बेलले केवल चार गोल गर्न सकेका छन् । उसो त अघिल्लो सिजन पनि स्वास्थ्य समस्याकै कारण क्लबका लागि बेलको प्रदर्शन सन्तोषजनक थिएन । अघिल्लो सिजन पनि उनले रियल म्याड्रिडका लागि २७ खेल खेल्दै नौ गोलमात्र गरेका थिए ।

यसैगरी सन् २०१५÷१६ मा क्लबका लागि ३१ खेल खेल्दै १९ गोल गरेका बेलले सन् २०१४÷१५ सिजनमा ४९ खेल खेल्दै १६ गोल गरेका थिए । सन् २०१३÷१४ सिजनमा उनको प्रदर्शन ४० खेलमा २२ गोल थियो । अघिल्लो सिजन रियल म्याड्रिडले स्पेनिस ला लिगा, च्याम्पियन्स लिग, यूईएफए कप, स्पेनिस सुपर कप र फिफा क्लब विश्वकप गरी पाँचवटा महत्वपूर्ण उपाधि चुम्दासमेत बेलको खासै गतिलो भूमिका देखिएन । मैदानमा अधिकांश समय उनको स्थान स्पेनिस खेलाडी इस्कोले लिँदै आएका छन् । तिघ्रा र पिँडुलाको समस्याका कारण बेलले यो सिजन पाँचवटा घरेलु लिगमा मात्र सहभागिता जनाउन सकेका छन् ।

सन् २००७ देखि सन् २०१३ सम्म इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा बिताएर रियल म्याड्रिडमा आबद्ध भएयता बेल २४ पटक घाइते भइसकेका छन् । पटकपटक घाइते हुने गरेकाले पनि एकपटक क्लबका मालिकले बेललाई ‘सिसाबाट बनेको मान्छे’ को संज्ञासमेत दिन भ्याएका थिए । त्यसैले पनि पछिल्लो समय आफूप्रति बढ्दो आलोचनालाई गतिलो जवाफ दिन बेलका लागि शनिबार साँझ हुने ‘एल क्लासिको’ भिडन्त गतिलो अवसर बन्न सक्ने अनुमान गरिएको छ ।