ब्राजिलको रोमांचक जीत

(एजेन्सी) – विश्वकप समूह ‘ई’ को तेस्रो खेलमा ब्राजिलले कोष्टा रिकालाई २-० ले हराएको छ ।

खेलभरी रक्षात्मक खेलेको कोष्टा रिकाका लागि उसका गोलकिपर केलर नाभासले आकर्षक खेल पस्केका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

अन्त्यतिर काउन्टर अट्याकमा ब्राजिलका लागि नेयमारले गोल गर्दै स्कोर २-० पारेका थिए । पहिलो खेल कोष्टा रिका सर्वियासंग १-० ले हारेको थियो । ब्राजिलको भने २ खेलबाट ४ अंक भएको छ ।