यु–१६ क्रिकेटमा नेपालको विजयी सुरुआत, थाइल्याण्ड १३३ रनले पराजित

मंसिर २५,काठमाडौं ।   नेपालले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । थाइल्याण्डको बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको थाइल्याण्ड १९ ओभर  बलमा अलआउट हुँदै ४६ रनमा समेटियो । नेपालको कसिलो बलिङसामु थाइल्याण्डका ब्याट्सम्यानहरु निरिह देखिए । मात्र ४ ओभरमा ४ रन जोड्दा ४ विकेट गुमाएको थाइल्याण्ड १९ ओभर भन्दा बढी टिक्न सकेन ।

थाइल्याण्डका  कोकिअट चाटवोङले ११ रन जोड्नुबाहेक अन्य  खेलाडीले १० रनको आँकडा पूरा गर्न सकेनन् । उसका योड्साक नोनाकुन र सारवत मालीवानले समान ७ – ७ रन जोड्दा किटीफाट दारुवाङले ३ तथा पटिफान साटफनितले २ रन बनाए ।

थाइल्याण्डलाई सस्तैमा समेट्न नेपालका नारायण जोशी एक्लैले ५ विकेट लिए । त्यस्तै सूर्य तामाङले २ तथा निखिल कुमार सिंह र विशाल बिक्रम केसीले समान १– १  विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ३ बलमा अलआउट हुँदै १७९ रन बनायो । थाइल्याण्डविरुद्ध सम्मानजनक स्कोरको लागि नेपालका तृतराज दासले ३९, कुशल मल्लले २४ तथा सुनिल भण्डारीले २३ रन बनाए ।

त्यस्तै नेपालका राजन मगरले १७, कप्तान रित गौतमले १६ रन बनाउँदा प्रतिष जीशीले १२ रन बनाए ।  थाइल्याण्डका कोकिअट चाटवोङले ३ तथा चिरापोङ र कोङकिडाकोनले समान दुई दुई विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब  दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।  त्यस्तै नेपालले अन्तिम खेल बिहिबार म्यानमारसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसहित आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् ।

एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । लिग खेलपछि समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।