साफ च्याम्पियनसिप : सेमिफानइलमा माल्दिभ्ससँग पराजित

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनलमा ३–० ले पराजित हुँदै नेपाल फेरी एकपटक फाइनल अगावै घर फर्किएको छ । पहिलो पटक फाइनल प्रवेशका लागि नेपालसामु आएको सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा नेपाली टोली कीर्तिमान रच्नबाट बन्चित भयो ।

इतिहासमा जस्तै नेपालले माल्दिभ्सविरुद्धको खेलमा पनि पछि परेपछि पुनरागमन गर्न सकेन । नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीको फ्रि किक गोलमानेपाल पछि परेको थियो । साफका पछिल्ला दुई सेमिफाइनलमा गोल गर्न नसकेको नेपालले यसपटक पनि कुनै गोल थप्न सकेन । नेपाली टोलीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो सुरुआत गरेपनि गोल गर्न भने सकेन । लगातार गोल गर्ने अवसर चुकाउँदा हतोत्साहित भएको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको थियो ।

यसअघि सन् १९९९ को सेमिफाइनलमा नेपाल र बंगलादेश खेलेका थिए । त्यसबेला बंगलादेशले ६२ औं मिनेटभित्र २ गोल गरेपछि नेपालले ७४ औं मिनेटमा गोल फर्काएको थियो । हाल नेपाली टोलीका प्रशिक्षक रहेका बालगोपाल महर्जनले उक्त गोल गरेका थिए । त्यसपछि सन् २०११ र २०१३ को सेमिफाइनलमा दुवै पटक अफगानिस्तानले नेपाललाई १–० ले पराजित भएको थियो । सन् २०१३ को सेमिफाइनलमा गोलरक्षक किरण चेम्जोङको गल्ति र रोहित चन्दको पेनाल्टी नेपालको लागि महँगो सावित भएको थियो ।

सन् २०११ को सेमिफाइनलमा निर्धारित समयको खेल गोलरहित भएपछि नेपालले अतिरिक समयको १ सय ११ औं मिनेटमा गोल खाएको थियो । सन् २०१३ काठमाडौंमा भएको च्याम्पियनसिपमा नेपालले ११ औं मिनेटमा गोलको सामना गरेको थियो । सेमिफाइनलमा पछि परेको इतिहास बदल्न नसक्दा नेपाल फेरि एकपटक सेमिफाइनलबाट बाहिरिएको छ ।