स्पेनसँग इरान पराजित, डियगो कोस्टाले गरे गोल

रुस(एजेन्सी) – स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बीअन्तर्गत आज इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । उनले ५४ औं मिनेटमा गोल गरेका थिए । उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् । सन् २००६ को विश्व कप पछि लगातार दुई खेलमा गोल गर्ने कोस्टा पहिलो स्पेनिस खेलाडी बनेका छन् । त्यति बेला फर्नान्डो टोरेसले दुई खेलमा लगातार गोल गरेका थिए ।

इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले हेड गर्दै बललाई गोलमा परिणत गरेपनि रेफ्रीले भिएआरको सहायतापछि त्यसलाई गोल दिएनन् । इजातोलाहीले हेड गर्नुअघि सरदारले अजमोउनले बल ह्यान्ड गरेका थिए भने सहायक रेफ्रीले अफसाइडका लागि झण्डा उठाएको भिएआरमा देखिएको थियो ।

मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानको सामना गर्नेछ ।