संसारभरका गाडी उत्पादक कम्पनी विद्युतीय गाडी प्रवर्द्धनमा लागेका बेला नेपालले पनि पछिल्लो समय दुईवटा महत्वपूर्ण निर्णय लियो।

पहिलो, राष्ट्रिय योजना आयोगले सरकारी स्तरमा पहिलोपटक विद्युतीय गाडी खरिद गर्यो।

दोस्रो, नेपाल विद्युत प्राधिकरणले पहिलोपटक विद्युतीय ‘चार्जिङ स्टेसन’ स्थापना प्रक्रिया अघि बढायो।

प्राधिकरणले चिनियाँ कम्पनी बिवाइडी अटोसँग सहकार्य गरेर राजधानीको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो। बिवाइडीले यो समेत गरी चार ठाउँमा स्टेसन राखिसकेको छ। यस्तो एउटा स्टेसन राख्न करिब १५–२० लाख रुपैयाँ पर्ने बिवाइडी अटोका महाप्रबन्धक विराज अधिकारीले जानकारी दिए।

‘चार्जिङ स्टेसनहरू अहिले कम भए पनि भविष्यमा विद्युतीय गाडीको संख्या बढ्न थालेपछि यस्ता स्टेसन बढीभन्दा बढी खोल्नुको विकल्प छैन,’ अधिकारीले सेतोपाटीसँग भने।

कम्पनीले सुरुआती चरणमा पोखरा, भैरहवा, कुरिनटार लगायत मुख्य सहरमा स्टेसन राख्ने तयारी गरिरहेको छ। सन् २०१८ जनवरीभित्र कम्पनीले १० देखि १२ ठाउँमा स्टेसन राख्ने तयारी गरिरहेको अधिकारीले जानकारी दिए।

बिवाइडीका दुई मोडलका विद्युतीय गाडी छन्। भविष्यमा अरू पनि ल्याउने तयारीमा छ।

डिजेल–पेट्रोल गाडीले फाल्ने धुवाँले नकारात्मक असर पारेपछि संसारभरि विद्युतीय गाडीको प्रयोग बढ्दो छ। अग्रणी अटोमोबाइल कम्पनीहरूले सन् २०३० पछि साबिकको पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्। त्यो अवस्थामा नेपालले पनि विद्युतीय गाडीमा जानुको विकल्प हुँदैन। त्यो अवधिसम्म यस्ता चार्जिङ स्टेसनको संख्या उल्लेख्य रूपमा बढाउनुपर्ने प्राधिकरणका अधिकारीहरू बताउँछन्।

केही समयमा माथिल्लो तामाकोशीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि बर्खा याममा खेर जाने बिजुली जोगाउन बिवाइडीलाई नमूना चार्जिङ स्टेसन राख्न अनुमति दिएको प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालय निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए।

‘हाम्रो उद्देश्य सर्वसाधारणलाई विद्युतीय सवारी पनि सहज हुन्छ भन्ने बुझाउनु हो,’ उनले भने, ‘यसले पेट्रोल–डिजेल खरिदमा बाहिरिने पैसा केही हदसम्म रोकिन्छ।’

यो परीक्षणकाल मात्र भएकाले प्राधिकरणले चार्जिङ स्टेसनको शुल्क, मापदण्ड लगायत नीति बनाउन गृहकार्य गरिरहेको उनले जानकारी दिए।

बिवाइडी सँगसँगै किया मोटर्सले समेत चार्जिङ स्टेसन सुरु गर्न लागेको छ। कियाले आफ्ना ग्राहकका लागि पोखरा, लुम्बिनी, नारायणघाट, मुग्लिन, धुलिखेल, काठमाडौं, हेटौंडा लगायत सात ठाउँमा चार्जिङ स्टेसन बनाउने तयारी गर्दैछ।

गाडी खरिद गर्दा कम्पनीले दिएको चार्जरले गाडी चार्ज गर्न ९ देखि १० घन्टा लाग्छ। कियाले स्टेसनमा राखेको डिसी चार्जरले ४ घन्टामा पूरा चार्ज गर्न सकिन्छ भने एसी चार्जरले आधा घन्टामै ८० प्रतिशत चार्ज गर्न सकिने किया मोटर्स नेपालका बजार व्यवस्थापक सुजन श्रेष्ठले बताए।

महिन्द्राले पनि दुईवटा मोडलका विद्युतीय गाडी बजारमा ल्याइसकेको छ। कम्पनीले अहिल्यै चार्जिङ स्टेसन राख्ने सोच नबनाएको अग्नि इन्कर्पोरेटडका प्रबन्धक सिजन न्यौपानेले जानकारी दिए। ‘अहिले हामीले छोटो दुरीमा चल्नसक्ने गाडी मात्र ल्याएका छौं, लामो दुरीको गाडी आएको अवस्थामा यसबारे सोच्न सकिन्छ,’ उनले भने।

विभिन्न कम्पनीले चार्जिङ स्टेसन खोले पनि एउटाको स्टेसनमा अर्को कम्पनीको गाडी चार्ज गर्न नमिल्ने जानकार बताउँछन्। गाडीमा प्रयोग भएको ब्याट्री फरक हुँदा एउटाको चार्जर अर्कोलाई नमिल्ने बिवाइडीका अधिकारीले बताए।

देशभर कति विद्युतीय गाडी छन् भन्ने यकिन तथ्यांक छैन। विद्युतीय गाडी पनि अरूसरह नै दर्ता हुने भएकाले छुट्टै तथ्यांक नभएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए।

‘हामी चाँडै भेइकल रजिस्ट्रेसन सिस्टम (भिआरएस) मा जाँदै छौं, त्यसपछि मात्र हामीसँग यी गाडीको तथ्यांक हुन्छ,’ पाण्डेले भने।

यसबीच बेलायत र फ्रान्सले सन् २०४० देखि पेट्रोल-डिजेल गाडी बिक्रीमा रोक लगाउँदै छन्। नर्वेमा २०२५ बाटै यो प्रतिबन्ध लाग्नेछ। भारतले पनि २०३० बाट बिक्री हुने हरेक सवारी साधन विद्युतीय हुनुपर्ने नीति लिइसकेको छ।

यसबाहेक अस्ट्रेलिया, डेनमार्क, आयरल्यान्ड, जापान, नेदरल्यान्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, अमेरिका, चीन लगायत देश पनि यही मार्गमा हिँड्ने तयारी गरिरहेका छन्।

विश्वकै अग्रणी अटोमोबाइल कम्पनीमध्येको एक मानिने भोल्भोले सन् २०१९ देखि पेट्रोल र डिजेलबाट चल्ने गाडी उत्पादन नगर्ने बताएको छ।

त्यस्तै बिएमडब्लु, टोयोटा, फियाट, किया, मर्सि्डिज बेन्ज, टोयोटा, होन्डा, रेनो, निसान, फक्सवागन, मित्सुबिसी र सेब्रोले जस्ता चर्चित अटोमोबाइल कम्पनीहरु पनि विद्युतिय सवारी बनाउनमा तल्लिन छन्।

जापान टाइम्सका अनुसार जापानमा ग्यास स्टेसन (पेट्रोल पम्प) भन्दा धेरै विद्युतीय चार्जिङ प्वाइन्ट छन्। गत वर्ष जापानमा ४० हजार विद्युतीय कार चार्जिङ प्वाइन्ट र ३४ हजार ग्यास स्टेसन रहेको कार निर्माता कम्पनी निसानले जनाएको छ।

सेतोपाटी

Chandragirinews rocky विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन प्रविधि    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews careerad विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन प्रविधि    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha
Chandragirinews jebsad विद्युतीय गाडी बढाउन धमाधम चार्जिङ स्टेसन प्रविधि    chandragiri, chandragiri news, chandragiri hills, chandragiri cabel car, thankot, satungal, naikap, balambu, matatirtha

Comments

comments