नेपाल टेलिकमका यी ६ सेवा अब निःशुल्क


चन्द्रागिरि ।

नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ। व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा डाइभर्ट गर्ने सेवा निशुल्क भएका हुन्। साउन १ देखि टेलिकमले आफ्ना केही सेवालाई निःशुल्क बनाएको हो।

के के सेवा निःशुल्क भए?

१. ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न पूरक सेवाहरु (Supplementary Services)  लिदा लाग्ने शुल्क (Activation Charge) हटाइएको छ। यी सेवामा पहिला शुल्क लाग्ने गर्थ्यो।

२. ल्याण्डलाइन टेलिफोनको कलर आईडी लिन सुरुमा शुल्क लाग्दै आएकोमा अब त्यो निःशुल्क भएको छ ।

३. त्यसैगरी अन्तरार्ष्ट्रिय कलका लागि आइएसडी (ISD)  सेवा आफैँले बन्द गर्न र खोल्न सकिने (Originating Restriction), सेवा निःशुल्क भएको छ।

४. बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ (Save) गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने (Abbreviated Dialing) र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (Call Transfer) सुविधा निःशुल्क भएको छ।

५. टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (Busy Transfer), ६ पटकसम्म घण्टी बजेर पनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट (Divert)  हुने (No Answer Transfer), आवश्यक पर्ने समयमा अलार्म (Alarm) को रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने वेक अप कल (Wake Up Call) र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने कल वेटिङ (Call Waiting) सुविधा निःशुल्क भएको छ।

६. टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड (Locking Code) आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क लाग्ने छैन।

कलर आईडी सुविधा लिन लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमले जनाएको छ। अन्य सुविधा भने ग्राहक आफैँले लिन सक्नेछन्। यसका लागि कम्पनीले विभिन्न कोडको व्यवस्था गरेको छ। नजिकको दूरसञ्चार कार्यालयबाट थप जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ।