चन्द्रागिरीको आफ्नै महत्व र विशेषता छ : मन्त्री मगर

चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले प्राकृतिक सम्पदाले धनी रहेको नगरपालिकाको आफ्नै महत्व र विशेषता रहेको बताईन ।

मन्त्री मगरले प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएकोमा जोड दिईन । “चन्द्रागिरी नगरपालिकाको मात्र होइन देशभरका पानीका मुहान सुकिरहेका छन, यसलाई संरक्षण गर्न सरकार लागिरहेको छ,”–
खानेपानीको समस्या समाधान गर्नका लागि मन्त्रालय गम्भीर रहेको उहाँको भनाई छ । मन्त्री मगरले समृद्ध नेपाल, सुखी नेपालीको आधारशीला सरकारले खडा गरिसकेको बताउँदै राष्ट्र निर्माणमा सबै दललाई सहयोग गर्न अपिल समेत गरिन ।

प्रतिनिधी सभा सदस्य अन्जना विसंखेले चन्द्रागिरीभित्र खानेपानीको समस्या रहेको बताउँदै यसलाई सम्बोधन गर्नका लागि सरकारसँग आग्रह गरिन । “खानेपानीका मुहान सुकेका कारण खानेपानीको समस्या हुँदै गएको छ, यसलाई सरकारले विशेष सहयोग गर्नुपर्छ,”–उनले भनिन ।

प्रदेश सांसद रमा आलेमगरले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीको विकासका लागि आफु लाग्ने प्रतिवद्धता व्यक्त गरिन । चन्द्रगिरी र दक्षिणकाली नगरपालिकाको छैमलेको खानेपानीको विकासका लागि एकिकृत योजना तर्जुमा गर्न आवश्यक रहेको औल्याउदै मन्त्री मगरलाई वजेट विनियोजित गर्न आग्रह गरिन ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीलाई काठमाडौँकै नमूना नगरपालिकाको रुपमा विकास गर्न आफु लागिरहेको वताए । “चन्द्रागिरीको विकासका लागि हातेमालो गरेर अगाडि बढौँ,”–उनले भने ।

प्रदेश सांसद केशव पोखरेलले चन्द्रागिरीभित्र उत्पादित वस्तुलाई देशभर चिनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले दहचोक, कालुपाण्डे समाधि स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल चन्द्रागिरीमा रहेको वताए ।

पर्यटकीय स्थल चन्द्रागिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझन् चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक रामनारायण घिमिरेले जानकारी दिए ।

महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा र वडास्तरिय स्टल राखिएको छ ।
महोत्सवका व्यवस्थापक देवेन्द्र प्रधानले नौ दिनसम्म चल्ने महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्किने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रम हुने वताए ।