नेवार समुदायले आज सिथि नख पर्व मनाउँदै

काठमाडौं, आषाढ ५ – नेवार समुदायले मगलबार सिथि नख मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगि लगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।

सिथि नख हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्ने गर्दछन् । आज नै काठमाडौंको जैसीदेवलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारलाई खटमा राखेर बेलुकामा नगर परिक्रमा गरेर जात्रा गरिन्छ ।

यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र गएको आइतबार महास्नान गरिएका थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ । सिथि नखका दिन हरेक वर्ष पानीको श्रोतलाई पुन सरसफाई गर्नु पर्दछ र आफू बसेको वातावरणलाई सरसफाई गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ  पानीको श्रोत इनार, कुवाको पनि सरसफाई गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ ।

सफा गरिसकेपछि चार दिनसम्म इनारबाट पानी तानिदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्नको लागि यही विशेष दिन पर्खिने परम्परा छ ।

अहिलेको मौसममा पानीको सतह कम हुने भएकोले सफा गर्न सहज हुने भएकोले अग्रजहरुले यो दिनलाई उपयुक्त मानेको हुन सक्ने अनुमान स्थानीय समुदाय गर्ने गर्दछ । यस पर्वसँगै १५ दिन बिराएर आउने चाडपर्वको क्रम समापन हुन्छ भने गठेमङ्गलबाट यो क्रम सुरु हुन्छ ।