पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै दहचोक

काठमाडौँको पश्चिमभेगस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि दिनहुँ जाने गरेका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहचोकको डाँडामा रहेका पौराणिक महत्वका इन्द्र दह, कालुपाण्डेको समाधीस्थल, पृथ्वीनारायण शाहले निर्माण गरेको प्राचीन मनकामना मन्दिरको अवलोकन पनि पदयात्रीको रोजाइको विषय बनेको छ ।
लगभग दुई घण्टा समयावधिको छोटो दुरीको पदयात्राका लागि आकर्षक गन्तव्य बनेको दहचोकमा विशेषगरी सार्वजनिक विदाका दिन स्वदेशी पर्यटकहरु पदयात्राका लागि पुग्ने गरेको छ ।
समुद्री सतहबाट २३७० मिटर उचाइमा रहेको दहचोकमा पदयात्राका माध्यमबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न र ऐतिहासिक स्थलहरुकोे अवलोकनमा पदयात्रीहरु रमाउने गरेको गिरीले बताउनुभयो ।
पदयात्राका लागि दहचोक गाविसको वडा नं १ स्थित खहरेबाट इन्द्रदहसम्म पुग्ने पदमार्गको निर्माण सम्पन्न भइसकेको छ भने पदयात्रीहरुले दहचोकको वस्नेत छापदेखि इन्द्र दहसम्मको अर्को मार्ग पनि प्रयोग गर्ने गरेका छन् । पछिल्लो समयमा नैकाप, दहचोकको गछेगाउँ र वस्नेत छापबाट पनि इन्द्र दहसम्म पुग्ने मोटरबाटो निर्माण भएका पदयात्राका साथै अवलोकनका लागि पनि पर्यटकहरु इन्द्र दहसम्म पुग्ने गरेको दहचोक एकता क्लबका अध्यक्ष रोशन दानीले बताउनुभयो । उहाँका अनुसार दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गए पनि यस क्षेत्रमा खानेपानीको चरम समस्याले पदयात्रीहरुलाई समस्या पर्ने गरेको छ । पदयात्राका लागि जाने पदयात्रीहरुलाई बाटोमा खानेपानीको सुविधा मात्र उपलब्ध गराउन सके पनि उनीहरुले ठूलो राहतको अनुभूति गर्ने उहाँले बताउनुभयो ।
उपत्यकामा विभिन्न पदयात्राका गन्तव्यहरु विकास भए जस्तै पदयात्रालाई लक्षित गरी विभिन्न पूर्वाधारहरु विकास गर्न सकेमा दहचोक उपत्यकाकै उत्कृष्ट रोजाइमा पर्नसक्ने अवस्था देखिएको छ ।