त्रिशूली–मातातीर्थ प्रसारण लाइन धमाधम

नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन त्रिशूली थ्री बी हबदेखि मातातीर्थ सब स्टेसनसम्म जोड्ने २२० केभी राष्ट्रिय प्रसारण लाइनको काम धमाधम भइरहेको छ ।

डबल सर्किट रहेको ४५ किमि लामो प्रसारण लाइनको निर्माण धमाधम भइरहेको त्रिशूली थ्री ‘ए’ का आयोजना प्रमुख फणीन्द्रराज जोशीले बताए । त्रिशूली थ्री बी हबदेखि मातातीर्थ सब स्टेसनसम्म प्रसारण लाइनका १ सय ४२ वटा टावर रहनेछन् ।
‘प्रसारण लाइनका २० वटा टावर निर्माणसम्पन्न भइसकेको र १५ वटामा काम भइरहेको
छ,’ जोशीले भने, ‘करिब १ सयवटा टावरकोफाउन्डेसन निर्माण गर्ने काम भएको छ ।’ टावर
रहने अधिकांश स्थानमा निर्माण सामग्री पुगिसकेको उनले बताए ।
सन् २०१८ को अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रसारण लाइनको लागत ३ करोड ३३ लाख अमेरिकी डलर रहेको छ । रसुवा र नुवाकोट जिल्लामा बन्ने सबै जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सो प्रसारण लाइनमा जोडिनेछ ।
प्रसारण लाइनको क्षमता करिब एक हजार मेगावट छ । बाडभञ्जाङदेखि मातातीर्थ सबस्टेसनसम्म फोर सर्किटको टावर निर्माण हुनेछ । मस्र्याङदीको प्रसारण लाइन बाडभञ्जाङमा आएर जोडिने भएकाले फोर सर्किटको टावर निर्माण हुने जोशीले बताए ।
प्रसारण लाइनभित्र २६ वटा सामुदायिक वन पर्दछन् । मतातीर्थ नजिकै रहेको महालक्ष्मी मतातीर्थ सामुदायिक वनको कारण प्रसारण लाइन निर्माणमा अवरोध छ । प्रसारण लाइनको टावर निर्माणका लागि प्रभावित जग्गाधनीलाई मुआब्जा वितरण गर्ने काम सकिएको छ ।