मातातिर्थ मेलाको सम्पुर्ण तयारी पुरा, १० लाख श्रद्धालु अाउने अनुमान

वैशाख ११, काठमाण्डौं ।

मातातिर्थ औंशीका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ मा अवस्थित पवित्र मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको लागि सम्पुर्ण तयारी पुरा भएको छ । वैशाख कृष्णपक्ष अाैँसीका दिन लाग्ने विशेष मेलामा मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालुहरू अाउने गर्दछन् ।

जनश्रुति अनुसार पहिले मातातीर्थमा ग्वालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हरायो त्यस घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमश हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । आमा हुने गोठालाले फालेको रोटीका टुक्रा भने हराएनन् तर आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे ।

गत वर्ष मेला भर्न ८ लाख दर्शनार्थीले मातातीर्थ अाैँसीका अवसरमा मातातीर्थ क्षेत्र पुगेका थिए भने यसपटक पनि ८ देखी १० लाख दर्शनार्थी मेला भर्न आउने अपेक्षा गरिएको मातातिर्थ संरक्षण तथा विकास समितिका सचिव सुमन महर्जनले चन्द्रागिरिन्युजलार्इ जानकारी दिए । वि.सं. २०७२ सालमा गएका शक्तिशाली भुकम्पहरूका कारण पानीको स्रोत गहिरिँदा मातातीर्थ कुण्डमा पानी अभाव छ, गत वर्ष स्थानीय महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिको सहयोगमा वैकल्पिक स्रोतबाट पानी ल्याइ मेला व्यवस्थापन गरिएको थियो भने यसपटक पनि सोही समितिलार्इ पानीको व्यवस्थाका लागि अाग्रह गरिने महर्जनले बताए ।

मेलालाई सफल बनाउन निःशुल्क घुम्ती शाैचालय, नागरिक सहायता कक्ष, प्राथमिक स्वास्थ्य केन्द्र लगायतको व्यवस्था गरिने छ जसका लागि स्थानीय संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, स्थानीय विद्यालयले सघाउने छन् भने दर्शनार्थीको सुरक्षार्थ २०० म्यादी र ४०० सय नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेछ । त्यस्तै मेलाका हरेक गतिविधि नियाल्न मेला क्षेत्रको चारैतिर सिसीटिभी जडान गरिने महानगरीय प्रहरी वृत्त थानकोटका डि.एस.पि. कृष्ण पंगेनीले जानकरी दिए । मेलालार्इ लक्षित गरि मातातीर्थ कुण्ड अासपासका क्षेत्रहरूमा रंगरोगन तथा सरसफाइ लगायतका कार्यहरू तिव्र रूपमा भइरहेका छन् ।

मेलालार्इ भव्य र सभ्य रूपमा सम्पन्न पार्न मातातिर्थ संरक्षण तथा विकास समितिका अध्यक्ष शान्त उदासले सबैसँग अाग्रह गर्दै दर्शनार्थीहरूको सहज र सुरक्षित रूपमा कुण्ड क्षेत्रमा पुजा अर्चनाका लागि प्रभावकारी व्यवस्थापनको अपेक्षा गरेको बताए । मेलामा विभिन्न स्टलहरू लगायत मनोरञ्जनका कार्यक्रमहरू समेत प्रस्तुत हुनेछन् ।