चन्द्रागिरी गाेल्डकपकाे उपाधी च्यासललाई

दाेश्राे चन्द्रागिरी गाेल्डकप अन्तर्गत आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई पराजित गर्दै च्यासले उपाधी हात पारेकाे छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै उपाधीकाे दावेदार बन्न सफल भएकाे हाे ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा दुई गोल गर्दै उपाधीकाे दावेदार बन्याे ।

५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत सुन्दर गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाउन मद्दत गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरिदा अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा जुनियरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । १४औं मिनेटमा जुनियरको पासमा अर्मान्डले छोडेको बलमा मिलन राईले फितलो प्रहार गरे । १५औं मिनेटमा ओको बोताको फ्रिकिक क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा अमित लामाको प्रहार अकासिएको थियो ।

१९औं मिनेटमा सुजित बुढाथोकीको प्रहार गोलरक्षक दिपेश थापामगरले मुस्किलले बचाए । २८औं मिनेटमा छिरिङ गुरुङ कर्नरमा अर्मान्डको हेडर बाहिरिएको थियो । ३९औं मिनेटमा दिपेश श्रेष्ठको प्रहार बाहिरिएको थियो । ६१औं मिनेटमा राज शाहीको फ्रिकिक डिफ्लेक्ट हुदै बाहिरिएको थियो । लगत्रत्तै प्राप्त कर्नरमा रमेश घिसिङले क्रस गरेको बललाई राज शाहीले प्रहार गरेपनि क्रसबारमा लागेर फर्कदा सरस्वतीले बराबरी गोल गर्ने मौका खेर फाल्यो ।

६३औं मिनेटमा सरस्वती १० खेलाडीमा समेटियो । विशाल मगर दोहोरो पहेलो कार्ड खादै मैदान बाट बाहिरिएपछि सरस्वती समस्यामा परेको थियो । त्यसपछि थप गोल हुन सकेन ।
च्याम्पियन बनेसँगै च्यासलले ६ लाख रुपैया सिल तथा ट्रफि उचाल्न सफल भयाे । दोस्रो भएको सरस्वतीले ३ लाख रुपैयासिल तथा ट्रफि पायो ।

प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरी, आयोजक दीपशिखा युवा समूहका ंअध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी लगायतले पुरस्कृत गरे ।
पुरस्कार बितरणमा बाेल्दै चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले याे खेलवाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा चन्द्रागिरीकाे नामलाई थप नयाँ उचाई प्रदान गर्न सफल रहेकाे बताए । उनलेे चन्द्रागिरीलाई नयाँ खेलकुद हब वनाउने र राष्ट्रिय स्तरमा चन्द्रागिरीवाट खेलाडीहरूकाे प्रतिनिधित्व हुन थप गृहकार्य भईरहेकाे बताए ।

१५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।