नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं – कप्तान जुमानु राईको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको हो । पुलिसका लागि कप्तान जुमानुले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए । मिडफिल्डर भोला सिलवालले प्रहार गरेको फ्रिकिकमा बीबीसीका गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा जुमानुले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए ।

पुलिसले अब फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो २:३० बजे हुनेछ । प्रतियोगिताको फाइनल खेल शनीबार हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।