चम्कँदै जेसिस इन्टरनेसनल स्कुलका विद्यार्थीहरू

प्रथम न्यू जेनिथ जुनियर तेक्वान्दो च्याम्पियनसिपमा जेसिस इन्टरनेसनल स्कुल च्याम्पियन भएको छ । शुक्रबार न्यू जेनिथ इंग्लिस मोडल उमाविको आयोजनामा भएको एकदिने च्याम्पियनसिपमा जेसिसले ७ स्वर्ण र ४ कास्य पदक हात पार्दै टिम च्याम्पियन भएको उपाधि उचाल्यो ।

दोस्रो भएको विस्डम स्कुलले ३ स्वर्ण, ३ रजत र १ कास्य जितेको थियो । आयोजक न्यू जेनिथ स्कुलले भने तेस्रो स्थानमा चित्त बुझायो । न्यू जेनिथले २ स्वर्ण र ५ कास्य जित्न सफल भयो ।

डल्लुस्थित न्यू जेनिथ इंग्लिस मोडल उमाविमा भएको च्याम्पियनसिपमा महिलातर्पm जेसिसकी निलिमा श्रेष्ठ र न्यू जेनिथका रयान बलामी उत्कृष्ट खेलाडी घोषित भएको आयोजक न्यू जेनिथका डोजाङ प्रमुख सरोज बास्कोटाले जानकारी दिए । रयान र निलिमा दुवैले २३ केजीमुनि तौलसमूहमा स्वर्ण पदक जितेका थिए । च्याम्पियन जेसिका लागि २६ केजीमुनि तिलक श्रेष्ठ, ३५ केजीमुनि उज्ज्वल कटवाल, ४० केजीमुनि सिजल श्रेष्ठ, ४५ केजीमुनि प्रतिक श्रेष्ठ, ५० केजीमुनि योवदिन दाहाल र ५८ केजीमुनि नवीन श्रेष्ठले स्वर्ण दिलाएका थिए । दोस्रो भएको विस्डम स्कुलका लागि कृतिका महर्जन र मनिल श्रेष्ठले स्वर्ण पदक दिलाए । आयोजक न्यू जेनिथका लागि २३ केजीमुनि रयान र ५४ केजीमुनि आदर्श श्रेष्ठले स्वर्ण पदक जिते ।

प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टिमले ट्रफी र मेडल प्राप्त गरे । विजेता टिमलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेल, विद्यालयका प्रिन्सिपल राजु महर्जन, तेक्वान्दो संघका केन्द्रीय सदस्यद्वय नोर्बु लामा र बद्रीप्रसाद घिमिरेलगायतले पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन तेक्वान्दो संघका उपाध्यक्ष भोजबहादुर शाहले गरेका थिए ।

च्याम्पियनसिपमा गल्सतर्पm ४ तौलसमूह र ब्वाइजमा १० तौलसमूहमा गरी विभिन्न विद्यालयका सय खेलाडीले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेको डोजाङ प्रमुख सरोज बास्कोटाले जानकारी दिए ।