चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको?

chandragiri hills
तस्बिर: सुजन गोपाली

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको?

मोहन मैनाली

तीन शहर नेपालको नैर्ऋत्य कोणमा पर्ने चन्द्रागिरि। आकाश खुलेको कुनै दिन यो साढे २५ सय मिटर अग्लो थुम्को चढौं। एकैछिन आँखा चिम्लिऔं र इतिहास सम्झिऔं- भादगाउँका अन्तिम राजा रणजित मल्लको राज्य उनका मीत छोरा पृथ्वीनारायण शाहले खोसिदिए। पराजित रणजितले बाँकी जीवन काशीमा बिताउन चाहे, पृथ्वीनारायणले प्रबन्ध मिलाइदिए।

अब कल्पना गरौं- रणजित काशी जान हनुमानढोकाबाट हिंडे। थानकोटसम्मको १३/१४ किलोमिटर तेर्साे र ७०० मिटर जति उकालो हिंडेपछि उनी चन्द्रागिरि भञ्ज्याङ आई पूर्व फर्किएर उभिए।

यसपछि के भयो?

नेपालको इतिहास भनिएको, कथ्य र तथ्य मिसिएको हिस्ट्री अफ नेपालले कल्पना गरे जस्तै भएको ठानौं- रणजितले उपत्यकाको सबैभन्दा पूर्वमा रहेको, अलि अघिसम्म आफूले शासन गरेको राज्यको अन्तिम दर्शन गरे। आँसु झारे।

त्यसपछि बूढा राजाले रुन्चे स्वरमा भने- ‘तिमी सतभैया (ल्याइतेपट्टिका सात भाइ छोरा)ले मेरा छोरा वीर नरसिंहलाई मार्‍यौ। पृथ्वीनारायणसँग मिलेर मेरो गद्दी खोसाइदियौ, मेरो यो गति पारिदियौ। तिमीहरूको कहिल्यै राम्रो नहोस्। तिमीहरूको बिर्ता हरण होस्। आफ्ना घरका झ्याल, माटो र टायल बेची खान परोस्, मागेर खान परोस्। कुनै पनि सज्जनले तिमीहरूको सङ्गत नगरून्।’

अब आँखा खोलौं। अघि हामीले रणजित मल्ल ठानेको आकृति त पृथ्वीनारायण शाहको शालिक पो रहेछ जसले ३० वर्ष जति अघि नै यहाँ आएर मल्लहरूले राज गरेका तीन शहरको पहिलो पटक दर्शन गरेका थिए।

दिव्योपदेशमा भनिएको, आजभन्दा २८२ वर्ष जति अघिको एउटा घटना सम्झिऔं। पृथ्वीनारायण शाह भानु जैसी, कुलानन्द जैसी र अरू थरघरलाई साथ लिएर चन्डागिरि (दिव्योपदेशमा उनले यो ठाउँलाई यसै भनेका छन्) आइपुग्या। नेपाल कुन हो भनी पृथ्वीनारायणले सोध्या। उनका मानिसले ‘त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौं हो’ भनी देखाया। युवा युवराज पृथ्वीनारायणका मनमा पर्‍यो, ‘इ तिन सहरको राजा हुन पाया ता हुँदो हो।’

उसै बेलामा उनका साथ रहेका दुईजना ज्योतिषीले भनिदिया, ‘हजुरको मनकान्छ्या अविलाष् पुग्ला, महाराजा।’ मनःकांक्षा पुग्ला त भने रे ज्योतिषीहरूले। मानें। ‘महाराजा’ पनि भने होलान् त?

पृथ्वीनारायणको बिहे विसं १७९५ को आसपास भएको थियो। त्यसको एकाध वर्षमा उनी डोला लिन हेटौंडा गएका थिए। त्यो विसं १७९७ को आसपास उनको दोस्रो बिहे हुनुअघिको कुरा हो। १७९९ को अन्तिममा नरभूपाल शाहको देहान्तपछि मात्र पृथ्वीनारायण राजा भएका थिए। राजा हुनुभन्दा दुई वर्ष जति अघि नै ज्योतिषीहरूले उनलाई कसरी महाराजा भने होलान्!

पृथ्वीनारायणले दिव्योपदेश दिँदा त्यसै भनेका छन् त!

उपदेश दिएका वेला उनले आफूलाई महाराजा भनिएको सुन्न थालेको पनि ३१ वर्ष जति भइसकेको हुँदो हो। यसबीचमा धेरै लडाइँ गरेका उनी असाध्य रोगले थलिएका थिए। सम्झनाका भरमा बोल्दा युवराज छँदा पनि महाराजा भनेको भनी जिब्रो चिप्लियो होला।

यस्ता वेला ससाना कुरामा जिब्रो चिप्लँदा बोल्नेको होइन, मिलाएर सुन्न नजान्नेको दोष हुन्छ। त्यसैले, ज्योतिषीहरूले पृथ्वीनारायणलाई महाराजा होइन, युवराज भनेको सुनौं। तपाईंलाई महाराजा नै भनेका थिए भन्ने लाग्छ भने पनि विवाद चाहिं गरिनराखौं। बरु शालिकको कुरा गरौं।

मकवानपुरबाट रापती नदीको बाटो चन्द्रागिरि आउँदा पृथ्वीनारायणलाई नेपाले राजाले चिन्लान् र पक्रेलान् भन्ने डर थियो। त्यसैले उनले स्याखू (ऊनबाट बनेको, गोठालाले ओड्ने घुम) ओडेका थिए। तर, हाम्रा अगाडि रहेको शालिकले स्याखू ओडेको छैन। अंग्रेज समेतका शक्तिलाई हराएका बूढा महाराजाधिराजको स्याखू चोर्ने हिम्मत कसैको नहुनुपर्ने।

त्यसैले हामी यो शालिकमा पृथ्वीनारायणले स्याखू ओडेकै देखौं! हिउँदमा धेरै पटक हिउँ पर्दा त्यो स्याखूले बूढा महाराजको शरीरमा हिउँ पर्न नदिएको र उनलाई न्यानो पारेको कल्पना गरौं।

यी दुई राजाले चन्द्रागिरिबाट काठमाडौं नियाल्दाको अन्तरालकै बीच फादर जुजेप्पे यहाँ आइपुगेका थिए। उनलाई नेपाल उपत्यका रङ्गशाला जस्तो लागेको थियो। उनले उपत्यका ढाकेर बसेका बाक्ला शहर र गाउँका मानिसलाई आफ्नो धर्ममा ढाल्ने मनसुवा गरेका थिए कि? मन्दिरै मन्दिरको तीन शहर नेपालमा गिर्जाघरै गिर्जाघर बनाउने मनःकांक्षा पो थियो कि?

त्यति वेला फिरङ्गीहरूलाई यहाँ आउन सजिलो थिएन। जो आउन पाए, चन्द्रागिरिबाट देखिने दृश्यलाई अलौकिक माने। भञ्ज्याङमा सुस्ताएर फरक फरक अनुभूति गरे।

सन् १९६६ ताका चन्द्रागिरि पहाडबाट देखिएको कीर्तिपुर। तस्वीर: नेपाल फोटो हिस्ट्री प्रोजेक्ट/सुजेन एकियामा

जुजेप्पे आएको केही समयपछि सन् १७७३ मा कर्णेल कर्क प्याट्रिक नेपाल आए। उनी चन्द्रागिरि उक्लेनन्। उनकै टोलीका लेफ्टिनेन्ट जेरार्ड भने भञ्ज्याङ चढेका थिए। त्यहाँ पुग्दा उनलाई यस्तो लागेको थियो-

चन्द्रागिरिबाट अत्यन्तै रमणीय दृश्य देखिन्छ। बाक्ला बस्ती सुन्दरतापूर्वक बसेका छन्। नागबेली परेका असंख्य खोलाले मलिलो बनाएका रङ्गीबिरङ्गी धानखेत चारैतिर छन्। ससाना डाँडाका लहर उठेका छन्। यी सबैको मिश्रण रहेको नेपाल उपत्यकाले प्रफुल्ल बनाउँछ। चारैतिर सुन्दर र थरीथरीका फराकिला गाउँ छन्। यहाँको सबैभन्दा ठूलो आकर्षण चाहिं डाँडा अगाडिको परिदृश्य हो। यो ठाउँ जमीनबाट बिस्तारै गगन-रङ्गशालाको माथिल्लो भागतिर उठेको छ।

सबैभन्दा तल रहेका उपत्यकाका शहर र असंख्य मन्दिरका प्रसन्नचित्त दृश्य बिस्तारै उठेर आश्चर्यजनक शिवपुरी डाँडासँग मिल्छ। त्यसपछि तल्लो भेग जङ्गलले र चुचुरो हिउँले ढाकिएको, शिवपुरीभन्दा अझ अग्लो जिब्जिबिया हिमालसँग मिल्छ र अन्त्यमा विशालकाय हिमालय शृङ्खलामा विलीन हुन्छ। यिनले उपत्यकाको अद्भुत र उत्कृष्ट चित्रको भव्य पृष्ठभूमि तयार गरेका छन्।

जिब्जिबिया हिमाल रे? काठमाडौं उत्तरका धेरै टाकुराको नाम सुनेको थिएँ। यीमध्ये केहीको त फेदीसम्मै पुगेको थिएँ। जिब्जिबिया चाहिं कुन परेछ त! अँ हँ, अड्कल काट्न सकिनँ। कसैले एउटा सुराक दिएका छन्, त्यो हिमाललाई धैबुङ पनि भनिन्छ भनेर। उहिले धैबुङ नामको गाविस थियो रसुवामा, तर हिमाल भए जस्तो लागेन। यो सुराकले पनि काम दिएन।

भूगोलविद् तथा हिमालविद् डाक्टर गुरुङलाई त पक्कै थाहा थियो होला। खोजबिन गरें। उनले पनि नाम सुनेका त रहेछन्, तर त्यो कुन चाहिं हिमाल हो, खुट्याउन सकेका रहेनछन्।

पौराणिक कालमा हिमालका पखेटा थिए रे, उडेर एक ठाउँबाट अर्काे ठाउँ जान्थे रे। जिब्जिबिया पनि उडेर अन्तै गयो त? त्यसो त नहुनुपर्ने, किनभने हिमाल उड्दै ठाउँ-कुठाउँ थ्याच्च बसेर मानिसलाई दुःख दिन थालेपछि भगवान् इन्द्रले पखेटै काटिदिएका थिए रे। पखेटा काटिएको जिब्जिबिया उड्ने कुरै भएन। यो अझै चन्द्रागिरिको सामुन्ने उत्तरमै हुनुपर्छ।

फ्रान्सेली विद्वान् सिल्भाँ लेभी कुनै वेला चन्द्रागिरि आएका थिए। उनले पनि यो हिमाल देखेका थिए रे! उनले यसको उचाइ ७,२४४ मिटर भनेका रहेछन्। त्यसैले जिब्जिबिया भनेको ७,२३४ मिटर अग्लो त्यही हिमाल हुनुपर्छ जसलाई आजभोलि हामी लाङटाङ लिरुङ भन्छौं।

चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको शालिक। तस्वीर: नेपाली टाइम्स

सन् १७७३ मा चन्द्रागिरि भञ्ज्याङको समतल भागमा सानो गाउँ र बजार थियो रे! जहाँ यात्रीले खानेबस्ने सुविधा पाउँथे। बाटो मुन्तिर सानो किल्ला थियो रे! जुन त्यति वेलै भत्किइसकेको रहेछ। अहिले केबलकारको माथिल्लो स्टेशन र त्यसकै छेउको रेस्टुरेन्ट भएकै ठाउँ वरपर थियो कि त्यो बजार?

ठाउँ पत्ता लगाउने खेल अझै सकिएको छैन। यहाँ आइपुगेका विदेशीले चन्द्रागिरिसँग जोडेर अर्काे एउटा ठाउँ उल्लेख गरेका छन्- लाहुरी नेपाल। यसको झिनो भए पनि अनुमान गर्न सकिन्छ। नत्र नेपाली बृहत् शब्दकोशले नै भनिदिएको रहेछ- लाहुरी नेपाल भनेको मकवानी राज्यको चित्लाङ भेग हो। मैले चाहिं शब्दकोशमै रहेको लाहुरी नेपाल यतिन्जेल सुनेकै रहेनछु।

नयाँ नाम सुन्ने क्रम यतिमै सकिँदैन। बूढा महाराजाले चन्डागिरि भनेको, हामीले अहिले चन्द्रागिरि भनी जानेको ठाउँलाई फ्रान्सिस ह्यामिल्टनले चन्दनगिरि भनेका छन्। सन् १८०२ र १८०३ मा काठमाडौंमा १४ महीना बसेका ह्यामिल्टनका अनुसार, यस गिरिमा बसेका वेला पार्वतीले बास्नादार काठ चन्दन दलेकी हुनाले यसको नाम चन्दनगिरि रहेको हो। ह्यामिल्टनले आफूभन्दा पहिले काठमाडौं आएका कर्क प्याट्रिकले यसलाई चन्द्रागिरि अर्थात् चन्द्रमाको पर्वत भनेको पनि लेखेका छन्।

ह्यामिल्टन लेख्छन्- नेपालका सबैभन्दा उत्तम ठाउँमध्ये पर्ने दुई उपत्यकालाई चन्दनगिरिले अलग गरेको छ। एउटालाई ठूली नेपाल भनिन्छ भने अर्काेलाई लाहुरी नेपाल।

ठूली नेपाल भनेको आजभोलिको काठमाडौं उपत्यका अर्थात् त्यति वेलाको तीन शहर नेपाल भइगयो। अर्को उपत्यका अर्थात् लाहुरी नेपाललाई ह्यामिल्टनले चाहिं मकवानी नभई ललित पाटन राज्यको भूभाग भनेका छन्। कान्तिपुरका राजाका केही भूभाग भक्तपुर राज्यभन्दा पूर्व थिए क्यारे! त्यसो भए ललितपुरका राजाको राज्य उसको सिमाना नजोडिएको ठाउँसम्म फैलिएको पनि त हुन सक्छ!

त्यति वेला नेपाल अर्थात् काठमाडौं पस्ने चार भञ्ज्याङ छन् भनिन्थ्यो- पूर्वको साँगा, दक्षिणको फर्पिङ, पश्चिमको पाँचमाने र उत्तरको पाटी भञ्ज्याङ। चन्द्रागिरि चाहिं पाँचौं भञ्ज्याङका रूपमा महत्त्वपूर्ण नाका बनिरह्यो। यही भञ्ज्याङले भारत हुँदै बाँकी विश्वलाई जोड्थ्यो।

चन्द्रागिरि भञ्ज्याङले काठमाडौंबाट मधेश र भारत जाने पैदलयात्रीको घुइँचो देख्यो। घोडा चढेर अनि तामदान, उलिनकाठ, डोली र डोकोमा बोकिएर आउजाउ गर्ने मान्छेहरू देख्यो। भञ्ज्याङले सन् १८५६ मा ‘बाइरोडको बाटो’ नखुल्दासम्म अरू अनौठा यात्री पनि देख्यो। ती थिए, ७०/८० जनाका काँध चढेर काठमाडौं आउने कार र ३०/३५ जनाका काँधमा बोकिएका पित्तलका तोप।

समुद्रपारिका सिपाही, अन्वेषक, फिल्म खिच्ने टोलीलाई पनि चन्द्रागिरिले बाटो दिएको थियो। संवत् १८७२ मा अलिकति तलमाथि हुन्थ्यो त अक्टरलोनीले नेतृत्व गरेको कम्पनी फौजलाई पनि यस भञ्ज्याङले स्वागत गर्नुपर्थ्यो।

सन् १८७३ देखि १८७६ सम्म काठमाडौंस्थित बेलायती दूतावासमा सर्जन रहेका ड्यानियल राइटले लेखेका छन्- भञ्ज्याङबाट दुईवटै उपत्यका (चित्लाङ र नेपाल) को सुन्दर दृश्य देखिन्छ। …स्पष्ट देखिने तीन शहर बाहेक डाँडा र भिराला कान्लामा साना शहर र अथाह गाउँ बसेका छन्।

सन् १८८५ मा आएका फ्रान्सेली विद्वान् गुस्भात ल बोंले लेखेका छन्-

यस उचाइबाट जुन भव्य दृश्य देखिन्छ त्यसको वर्णन गरीसाध्य छैन। गौरीशंकरको अग्लो शिखर लगायतका, बादलले ढाकेका हिमालयका टाकुराहरूले यात्रीका वरिपरि हिउँको शिरपेच खडा गरिदिन्छन्। तल उपत्यका चाहिं हरियाली र जङ्गलले ढाकिएको छ। मैले घुमेका स्वीट्जरल्यान्डका सबैभन्दा सुन्दर ठाउँ अथवा तात्रा पर्वतका भव्य स्थल यस ठाउँका अघिल्तिर फुस्रा लाग्छन्।

काठमाडौं उपत्यकाले आफ्नो अतुलनीय उर्वराशक्ति प्रदर्शन गरिरहेको थियो। हामी ओह्रालो झरेको बाटो सुन्दरतम रूखहरूले ढाकिएको थियो। त्यहाँ वेगले बगिरहेका खोला थिए। यस्तो बिछट्टको हरियालीमा लुकेका गाउँ नजिक पुगेपछि मात्र देखिन्थे। ससाना मन्दिर तथा बुट्टा कुँदिएका काठेघर पेगोडाका झुन्ड जस्ता लाग्थे।

धेरै विदेशीका कल्पनामा नेपाल उपत्यका अनौठो र अलौकिक ठाउँ थियो। चन्द्रागिरि भञ्ज्याङबाट यो दृश्य हेर्न उनीहरू आतुर हुन्थे। नेपाल उपत्यकालाई चलचित्रमा उतार्न सन् १८३९ मा यहाँ आएका फिल्ममेकर जोडी अर्मान्द डेभिस र लेइला रुजवेल्टका साथमा आएका लेखक तथा फोटोग्राफर हासोल्ड्ट डेभिसको अनुभूति सुनौं-

(चन्द्रागिरि जाने) पैदल बाटो नाक ठोकिएला जस्तो ठाडो छ। म अब चाँडै भञ्ज्याङ पुग्छु र त्यहाँबाट केटाकेटी हुँदादेखि मेरो कल्पनामा रहेको विचित्र ठाउँ हेर्न पाउँछु भन्ने सम्झँदा मनमा हर्क मडारिएको छ।  

भञ्ज्याङ पुग्ने वेलामा बाटो घुमेको छ। बाटोको भित्ता छुँदा चुन र ढुङ्गा बर्सन्थे। म चार हातपाउ टेकेर हिंड्दै थिएँ। त्यति वेला मैले यो बाटो हिंड्दा खसेर मरेका तीर्थयात्रीलाई झलझली सम्झिएँ। बाटोका रूखलाई भाइलाई जस्तै अँगालो मार्दै एकपछि अर्काे रूखतिर अघि बढें। उकालो चढेपछि समतल ठाउँमा पुगें। अब म कसैको सहायता विनै उभिन सक्ने भएको थिएँ।

अचानक म डाँडाको अर्काे भागमा पुगें। मेरो सामुन्ने चन्द्रागिरि भञ्ज्याङ थियो। मैले क्वारक्वार्ती हेरें। तल नेपाल उपत्यका, पौराणिक कथामा वर्णित काठमाडौं फैलिएको थियो। कुहिरोले टम्म ढाकिएको थियो। रहस्यको अन्तिम घर यही हो, सम्पूर्ण रूपमा शून्य!

चन्द्रागिरि पुगेर काठमाडौं उपत्यका हेर्ने कत्रो धोको थियो उनको! कुहिरोले छेकिदियो। तर, उनले कुहिरोले ढाकेको उपत्यकाको झन् बढी प्रशंसा गरे। अर्थात्, आकाश र भुइँ खुलेका वेला चन्द्रागिरिबाट देखिने काठमाडौं उपत्यका मनोरम हुन्छ। नखुलेका वेला अझ रहस्यमयी! डेभिस जस्ता उग्र प्रशंसकलाई जसरी मलाई चाहिं बादलमुनिको रहस्य पर्खिरहने धैर्य रहेन। त्यसैले लागें लाहुरी नेपालतिर।

भीमफेदीको उकालो, चिसापानी गढीबाट ओरालो, कुलेखानी, मार्खु, कुसुले चौर र चित्लाङ हुँदै चन्द्रागिरि आउने यो बाटो कस्तो थियो होला? यो बाटो हिंड्ने सौभाग्य नपाएकाले म कि कल्पना गर्न सक्छु कि त लेफ्टिनेन्ट कर्णेल सर क्लुथा म्याकेन्जीले गरेको वर्णन पढेर आङ सिरिङ्ग पार्न र फत्रक्क गल्न।

सन् १९४६ मा चन्द्रागिरि टेकेका म्याकेन्जीले लेखेका छन्-

हामीले भात खाँदा दुई बजेको थियो, असाध्यै भोकाएका थियौं। हामी पर्वतको अर्काे भित्ताको फेदमा थियौं। घाम असाध्यै चर्काे थियो। फुलेका जङ्गली नास्पातीका बोटको सँयल परेको घाँसे किनारमा बसेका थियौं। मैलाधैला केटाकेटी, भेडा गोठाला र जिज्ञासु बटुवा भेला भएर हामीलाई हेर्थे र मित्रवत् हाँस्थे।…  

त्यसपछि चन्द्रागिरि भञ्ज्याङसम्मको उकालो हामीले हिंडेमध्येको सबैभन्दा खराब बाटो थियो। खासमा बाटो भन्नै नमिल्ने, राम्रोसँग नजोडिएका, ठूला ढुङ्गाको होचो-अग्लो खुड्किला मात्रै थियो त्यो।

यहाँको चलन अनुसार, यात्रा सुखद भएकोमा आभार व्यक्त गर्न र भूतप्रेत भगाउन देउराली पुगेपछि हामीले ढुङ्गाको थुप्रोमा एउटा एउटा ढुङ्गा चढायौं।

यहाँबाट अद्भुत दृश्य देखिन्थ्यो। हामी एउटा ठूलो कचौराको डिलमा उभिएका थियौं। टाढा, तल १५० वर्ग माइलको समृद्ध, कतै कतै खैरा र राता छानायुक्त घर झुरुम्म रहेका गाउँ भएको, वनद्वारा आच्छादित र किल्लाबन्द गहिरो हरियालीले शोभायमान् भूभाग बसेको थियो। डाँडाभन्दा पर्तिर दोस्रो, तेस्रो तरेलीमा तुवाँलोले धमिलो बनाएका विशाल पर्वतका हिउँ-टाकुरा आकाशमा झुन्डिएका थिए। यो राइडर हागर्डको उपन्यासमा वर्णित रहस्यमयी, रोमाञ्चक र अगम्य उपत्यकामध्येको एउटा जस्तो लाग्थ्यो- मन्दिर र मूर्ति, दरबार र सुन्दरी, बहुमूल्य पत्थर र हस्तदन्त तथा अरूभन्दा फरक बानीबेहोरा र सभ्यताका अजीव जाति भएको उपत्यका।

बीच बीचमा बगेका अद्वितीय सुन्दरतायुक्त कञ्चन खोला, अन्नबाली, बगैंचा, सुन्तला जातका बोट, छायादार रूख र अग्ला बाँसले ढकमक्क ढाकिएका खेत देखिन्थे। विशाल पर्वतका गहिरो मुटुमा बसेको यो एकान्त र कसैले नचिताएको सुन्दर ठाउँ प्राचीन अधिराज्यको राजधानी नेपाल उपत्यका हो जसको उत्पत्ति र इतिहास सम्बन्धी जानकारी दन्त्यकथाको कुइरोभित्र लुप्त छन्।

चन्द्रागिरिबाट काठमाडौंलाई यति भव्य स्वरूपमा देख्ने म्याकेन्जी आँखा ठ्याम्मै देख्दैनथे।

अब एक पटक चन्द्रागिरिबाट पर्वतारोहीका आँखा र दिमागले नेपाल उपत्यका हेरौं। सन् १९४९ मा आएका एच्. डब्लू. टिलम्यानले लेखेका छन्-

चन्द्रागिरिबाट तल अशोकका मन्दिर र स्तूप अनि पवित्र बगैंचा र घाट रहेको सुन्दर-फराकिलो उपत्यका हेर्दा यसको एकलास बसाइ, उथलपुथलमयी विगत तथा हिन्दू/बौद्ध परम्पराका सबैभन्दा पुराना पीठसँग जोडिएको पवित्रता र रहस्यले थकितभन्दा थकित यात्रीको मनमा पनि कल्पना जगाइदिन्छ।

कुनै यात्री यहाँ पुगेको दिन बादल लागेछ र यहाँको धार्मिक परम्पराको स्रोत हिमालय देखिएनछ भने पनि अलिअलि मात्र भिराला र वनले ढाकिएका पहाडले घेरिएका हरिया र पहेंला पाटा, इँटा र झिँगटीका घर, चमकदार सेता दरबार, शहरका काला चम्किला छाना देख्दा ऊ मन्त्रमुग्ध हुन्छ। …पाँच लाख जति मानिस र नेपालको झन्डै झन्डै सबै शक्ति, कला, समृद्धि र व्यापार भनौं, यस देशका सबै थोक यही ठाउँमा थुप्रिएका छन्।

तोप र कार बोकेर आएकाहरू अनि तीर्थ गर्न हिंडेकाहरू चन्द्रागिरि पुगेपछि के सोच्थे होलान्? पहिलो पटक यस्तो अद्वितीय ठाउँको दर्शन पाउँदा शिवरात्रिमा पशुपति आउने साधुसन्त र भक्तको मनमा उमङ्ग छाउँथ्यो होला?

यी प्रश्नको उत्तर नभेटिएला, किनकि तिनको अभिलेखै नहोला। चन्द्रागिरिले त पक्कै सुनेको छ, तर ऊ बोल्दैन।

चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको? पृथ्वीनारायण उदाउँदो सूर्यका हैसियतमा चन्द्रागिरि आएका थिए। अस्ताउँदो सूर्यकै हैसियतमा भए पनि रणजित पनि त आएका थिए। उनको शालिक राख्दा शक्ति उदाएदेखि अस्ताएसम्मको चक्र पूरा हुन्थ्यो।

विजेताको विम्ब पृथ्वीनारायण भए जसरी हार्ने धेरै राजाका विम्ब रणजित हुन्थे। पराजितलाई पनि इज्जत दिने चलन दुनियाँमा छँदै छ। पृथ्वीनारायण बूढा महाराजा भनेर चिनिन्थे भने रणजित पनि त बूढा राजा भनेर चिनिन्थे। यी दुई मीतबाबु र मीतछोरा पनि त हुन्। दुवैलाई नजिकै उभ्याइदिएको भए आपसमा दुःखसुखका कुरा गरेर पट्यारलाग्दा दिन अनि रात बिताउँथे।

आफूपछि भएका राजामध्ये कोही लहडी र सनकी भएको, कुनै राजा जेल परेर त्यहीं मर्नुपरेको, अधिकार खोसाएर राजाले निरीह बन्नुपरेको, राजाको वंश विनाश भएको र अन्त्यमा राजतन्त्र नै बिदा भएको कुरा बूढा राजालाई बताउँदा बूढा महाराजाको मन पनि अलि हल्का हुन्थ्यो होला। जति शक्तिशाली भए पनि राजगद्दी खोसिँदो रहेछ भन्ने कुरा पुनःस्मरण गरेर बूढा राजाले मन बुझाउने बाटो पाउँथे होला।

(मैनाली लेखक तथा पत्रकार हुन्। हिमालको २०७९ असोज अङ्कबाट।)