चन्द्रागिरि जन्मस्थान नक्कली कागजात बानाइ, कीर्ते गरेर नागरिकता बनाउन काठमाडौंका वडाध्यक्षकै संलग्नता

चन्द्रागिरि।

काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अदालतमा पेस भएको अभियोग पत्रअनुसार केसीले नक्कली कागजातका आधारमा मोरङ मिक्लाजुङ गाउँपालिका– २ का ३३ वर्षीय नयन नेपाल भनिने विनोदराज शिवालाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा उनले २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २७–०१–७९–०७२५४ नं. को नागरिकता लिएका थिए ।

जारी भएको नयाँ नागरिकताअनुसार विनोदराज शिवाको जन्मस्थान चन्द्रागिरि नगरपालिका– १९ खड्का गाउँ देखाइएको छ । नाम नयन नेपाल बनाइएको छ । ५३ वर्षीय गोविन्द नेपाललाई बुबाका रूपमा खडा गरिएको छ । चन्द्रागिरि नगरपालिकाबाट काठमाडौं महानगरमा बसाइँसराइ गरेर देखाएर नागरिकता बनाइएको छ । सोही नागरिकता प्रयोग गरी उनले प्रभु बैंकमा खाता खोल्ने मात्र नभई दोस्रो विवाह दर्ता नै गराएका छन् । नागरिकता प्राप्त गर्न उनले जन्मदर्ता, बसाइँसराइको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली बनाएका थिए । सोही कागजातका आधारमा काठमाडौं– १० का वडाध्यक्ष केसीले नागरिकता बनाउन २४ साउन ०७९ मा सिफारिस गरेका थिए । सिफारिस लिएको भोलिपल्ट उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएका थिए ।

जब कि उनले १७ फागुन ०६३ मै इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङबाट नागरिकता लिएका थिए । त्यसवेला जारी भएको नागरिकता प्रमाणपत्र नंं. ०५३१७–१५७१ हो । नागरिकतामा उनको नाम विनोदराज शिवा छ । बुबाको नाम रघुनाथ शिवा दर्जी छ । उक्त नागरिकताबाट पनि उनले पहिलो विवाह दर्ता गराएका थिए । उनकी पहिलो श्रीमती सपना श्रेष्ठ र कान्छी श्रीमती कविता हिङमाङ हुन् । उनले अदालतको बयानमा दुईवटा नागरिकता लिएको स्वीकार गरेका छन् । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान उमेर घटाएर नयाँ नागरिकता लिएको उनले अदालतमा भनेका छन् । अभियोग स्वीकार गर्दै उनले भनेका छन्, ‘प्रहरीले बरामद गरेको दुवै नागरिकता मेरै हुन् । दुवै नागरिकता मैले नै लिएको हुँ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता प्राप्त गर्ने क्रममा सिर्जना गरिएका कागजात मैले किर्ते गरेको होइन ।’

अदालतका अनुसार उनले नक्कली कागजातका आधारमा दोस्रो नागरिकता लिन तीन लाख रुपैयाँ खर्च गरेका थिए । रकम पर्शुराम भनिने व्यक्तिलाई दिएका थिए । उनको पर्शुरामसँग २३ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भेट भएको थियो । तीन लाख रुपैयाँमा नक्कली नागरिकता बनाउने आश्वासन उनले पर्शुरामबाटै पाएका थिए । बुबा खोज्ने जिम्मा भने उनकै थियो । सोही क्रममा उनले चन्द्रागिरि नगरपालिका– १९ का गोविन्द नेपाललाई बुबा बनिदिन भनेका थिए ।

सहजै मानेपछि उनले गोविन्दलाई लिएर काठमाडौं महानगरपालिका– १० कार्यालय पुगेका थिए । पर्शुराम कार्यालयमै थिए । प्रशासनिक खर्च माग गरेपछि उनले पर्शुरामलाई ५० हजार रुपैयाँ सोही ठाउँमा दिएका थिए । बसाइँसराइको कागजात, जन्मदर्ता र शैक्षिक योग्यताका प्रमाणपत्र पर्शुरामले वडा कार्यालयमै तयार गरेका थिए । सोही कागजात पेस गरेपछि वडाध्यक्ष केसीले नागरिकता बनाउन सिफारिस गरेका थिए । ‘वडा नं. १० मा गएर कागजात बनाउन ५० हजार रुपैयाँ दिएका थियौँ । पर्शुरामले गोविन्द नेपालको छोरा नयन नेपालको हैसियतमा मेरो नागरिकता बनाउन चाहिने सिफारिससमेत अन्य सबै कागजात बनाई मलाई सिफारिसमा ल्याप्चे गर्न लगाई सोही दिन म, गोविन्द र पर्शुराम जिप्रका काठमाडौं गई कागजात पेस गरेको र अन्य सबै काम पर्शुरामले गरेको हो । गोविन्दले बाबुको हैसियतमा दस्तखत गराएपछि मैले नयन नेपालको नामबाट वंशजको नागरिकता प्राप्त गरेँ । नागरिकता प्राप्तिपछि पर्शुरामलाई बाँकी दुई लाख ५० हजार सोही दिन दिएँ,’ उनले अदालतमा भनेका छन् ।

काठमाडौं महानगरपालिका– १० का वडाध्यक्ष केसी भने नागरिकता बनाउन सिफारिस गर्ने क्रममा आफ्नो कुनै संलग्नता नभएको र दोषी पनि नभएको बताए । कागजात नक्कली र सक्कली छुट्याउने वैज्ञानिक प्रणाली नभएको हुँदा भूलवश नागरिकता बनाउन सिफारिस गर्न पुगेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।