थानकोट–नौबिसे सुरुङमार्ग : लागत १७ अर्ब, दूरी ५.७ किमि

जेठ २३, काठमाडौं । सरकारले करीब रू. १७ अर्बको लागतमा काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबिसेमा पर्ने झ्याप्ले खोलासम्म ‘थानकोट–झ्याप्ले खोला (नौबिसे) सुरुङमार्ग’ निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकार (जाइका)को प्राविधिक र ऋण सहयोगमा उक्त सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ ।

आगामी डिसेम्बरसम्ममा उक्त सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए । डीपीआर जाइकाले बनाइरहेको छ । काठमाडौं उपत्यकाको प्रमुख नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गाको मध्यबिन्दुबाट शुरू हुने उक्त सुरुङमार्ग धादिङमा पर्ने नौविसेको झ्याप्लेखोलासम्म करीब साढे २ किलोमिटर लामो हुनेछ । सो मार्गको कुल लम्बाइ ३ दशमलव ३ किलोमिटर रहेको र सुरुङमार्गबाहेकको बाँकी भाग सडकमार्ग हुने मन्त्रालयले बताएको छ । उक्त सुरुङमार्गको चौडाइ भने साढे ७ मिटरको हुनेछ । सूचना अधिकारी शर्माका अनुसार डीपीआर तयारीलगत्तै निर्माण कार्य थालिने छ ।

हाल थानकोट–नौबिसेको झ्याप्ले खोलासम्मको दूरी करीब ९ किलोमिटर रहेको छ । सुरुङमार्ग निर्माणपछि उक्त दूरी ५ दशमलव ७ किलोमिटरमा सीमित हुनेछ । ४ वर्षमा निर्माण सम्पन्न हुनेगरी आवश्यक गृहकार्य अघि बढाइएको उक्त सुरुङमार्ग निर्माणका लागि नेपाली प्राविधिक जनशक्ति पनि परिचालन गरिएको मन्त्रालयले बताएको छ । नेपालमा सुरुङमार्ग निर्माणमा प्राविधिक जनशक्ति नै कम भएको अवस्थामा उक्त सुरुङमार्ग निर्माणबाट नेपालले प्राविधिक कार्यक्षमताका साथै ज्ञान अभिवृद्धिका लागि नेपाली प्राविधिक टोलीलाई पनि समेट्ने गरी काम अघि बढाएको उनले बताए । यसबाट नेपाली प्राविधिकहरूले आर्जन गर्ने ज्ञान र सिकाइ अन्य सुरुङमार्ग निर्माणका लागि पनि लाभदायी हुने बताइएको छ ।

मन्त्रालयका अनुसार हाल डिटेल डिजाइन (विस्तृत ढाँचा)को काम सम्पन्न भइसकेको उक्त सुरुङमार्ग निर्माणका लागि करीब दुई महीनाअघि जाइकासँग एमओयु भएको थियो ।

उक्त सुरुङ मार्ग निर्माणको मुख्य उद्देश्य काठमाडौं आउँदा थानकोट–नागढुङ्गामा हुने सवारीजाम खुकुलो गर्नु रहेको मन्त्रालयले बताएको छ । यसका साथै थानकोट–नागढुङ्गा आउनुभन्दा पहिलो चरणको सडकखण्डमा हुने घुमाउरो, साघुँरा र उकालो सडक खण्डमा सहज रूपमा सवारी साधन सञ्चालन हुने अवस्था सिर्जना गराउनु अर्काे मुख्य उद्देश्य भएको मन्त्रालयको भनाइ छ । उक्त सुरुङमार्गको निर्माणपछि सर्वसाधारणको समय तथा ट्राफिकजामका कारण हुने सास्ती कम हुने देखिएको छ । यस्तै, पेट्रोलियम पदार्थको बचतसमेत हुने छ ।