के तपाँइलाई एलर्जिक राईनाइटिस (नाकको एलर्जी) छ ?

के तपाँइलाई एलर्जिक राईनाइटिस (नाकको एलर्जी) छ ?
डा बिज्ञान राज ज्ञवाली MRCS, MS, FICS, FACS
कान नाक तथा घांटी रोग बिषेशग्य
त्रि. बि. शिक्षण अस्पताल

एलर्जिक राईनाइटिस भनेको के हो?
यो एउटा शरीरको इम्म्युनोलोजीकल अवस्था हो जसमा शरीरले कुनै तत्वसंग(allergen) अत्याधिक मात्रामा प्रतिक्रिया गर्छ जसलाई Hypersensitivity Reaction पनि भनिन्छ।
एलर्जिक राईनाइटिसका लक्षणहरु के के हुन्?
 लगातार हाच्छिउ आउने
 नाक चिलाउने नाक बन्द हुने
 नाकबाट पातलो सिंगान बग्ने
 आँखा चिलाउने मुखको माथिल्लो भाग चिलाउने
 एलर्जिक राईनाइटिस भएको ४०% मानिसहरुमा दमको जोखिम हुने गर्दछ भने १-५% मानिसहरुमा
नाकमा मासु पलाउने समस्या देखिन सक्छ

हामीलाई के के कुरासंग एलर्जि हुन सक्छ ?
एलर्जि गराउने तत्वहरु (Allergen) धेरै हुन्छन। केहि साधारण तत्वहरु;
१) बिरुवा बाट निस्कने पराग (Pollen)
२) धुलोको कण (Dust mites)
३) ढुसी (Fungus)
४) विभिन्न खानेकुराहरु
५) जनावरहरुको जिउबाट निस्कने धुलो (animal dander)

एलर्जिक राईनाइटिस भएको कसरि थाहा पाउन सकिन्छ?
एलर्जिक राईनाइटिस प्राय जसो बिरामीहरुको लक्षणहरु बाट थाहा पाउन सकिन्छ। के कुरासंग ऎलर्जि छ भन्ने
कुरा चाहिँ छालाको जाँचबाट (Skin Prick Test / SPT ) थाहा पाउन सकिन्छ। SPT गर्न नमिल्ने या SPT गर्न
नचाहने बिरामीहरुलाई रगतको जाँच बाट पनि के कुरासंग एलर्जि छ भन्ने कुरा थाहा पाउन सकिन्छ। यो टेस्ट
लाई Radioallergosorbent test (RAST) भनिन्छ।

एलर्जिक राईनाइटिसको कस्ता उपचार बिधिहरु हुन्छन? के यसलाई निर्मुल पार्न सकिन्छ?
एलर्जिक राईनाइटिस एउटा इम्युनोलोजिकल अवस्था हो र यसलाई निर्मुल पर्न सकिदैन तर यसलाई नियन्त्रण
मा भने राख्न सकिन्छ।
१) सबै भन्दा पहिलो उपाय भनेको आफुलाई एलर्जी गराउने तत्वबाट बच्ने हो। के कुरासँग एलर्जी छ भन्ने कुरा
छालाको या रगतको जाँचबाट थाहा पाउन सकिन्छ। केहि बच्ने उपायहरु तल दर्शाइएका छन।
२) औषधिको सेवन: एलर्जिक राईनाइटिसको प्रकार जस्तै; मौसमी (seasonal ), बार्हमासे (perinneal ),
गम्भीरता ( persistent / intermittent / mild/ moderate / severe ) हेरेर चिकित्सकद्वारा तपाँइलाई उपयुक्त
औषधि दिइनछ।
३) ईम्युनोथेरापि (Immunotherapy ): यो पद्धतिले बिरामीको कुनै निश्चित एलर्जेनसंगको प्रतिरोधात्मक शक्ति
बढाँउछ र लामो समयसम्म लक्षणहरुको नियन्त्रण गर्छ। यसले एकप्रकारबाट भ्याक्सिन (vaccine ) जसरि काम
गर्छ।

एलर्जिक राईनाइटिसलाई चिकित्सा गरिएन भने के समस्याहरु आउन सक्छन?
समयमा चिकित्सा नगर्नाले दम (asthma ), नाकमा मासु पलाउने (sinonasal polyposis ), गन्ध नाउने
(hyposmia / anosmia ), कानमा पानी जम्ने (otitis media with effusion ), निन्द्राको समस्या (obstructive
sleep disordered breathing) इत्यादिको जोखिम बढ्न सक्छ।

एलर्जिक राईनाइटिस भएको बिरामीहरुले अपनाउनु पर्ने सतर्कता के के हुन्?
 बाहिर निस्कने बेला/ बारीमा कामगर्ने बेला मास्कको प्रयोग गर्ने
 चिसोले एलर्जि गराउँछ भने सकेसम्म तातो पनिको प्रयोग गर्ने
 गलैंचा, सोफा, डसना नियमित vaccum cleaner ले सफा गर्ने
 तन्ना, सिरक, सिरानीको खोलहरु तातो पनिले (६० डिग्री भन्दा माथि) धुने या एलर्जेन प्रतिरोधी तन्ना,
डसना, इत्यादीको (hypoallergenic bedding and cover ) प्रयोग गर्ने
 कोठामा पुरानो कपडाहरु गुम्स्याएर नराख्ने
 कोठामा ढुसी लागेको ठाउँहरुको उन्मूलन गर्ने
 आफु बस्ने कोठा सुकिलो र राम्रो वायुसंचार (Ventillation ) भएको हुनु पर्दछ
 धेरै प्रधुषण हुने ठाउँहरुमा कोठामा HEPA फिल्टर या एयर पिउरीफायरको प्रयोग गर्ने
 केहि खानेकुरासंग एलर्जी छ भने त्यो खानेकुरा को सेवन नगर्ने