कुलेखानी तेस्रोबाट विजुली उत्पादन शुरू , माघबाट वितरण हुने

474

चन्द्रागिरि ।

२०६४ चैतबाट निर्माण सुरु गरेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले करिव १० वर्षपछि निर्माण कार्य सम्पन्न गरी २०७४ माघबाट विद्युत् उत्पादन गर्ने भएको छ ।

मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन आयोजनाको विद्युत् माघको पहिलो साताबाट उत्पादन हुने भएको हो । माघ ४ गतेसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइरहेको आयोजनाले निर्माणको काम अवलोकन गरेर समयसीमा तोकेको हो ।

गत साउन महिनामा काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने हेतुले पाँचौं पटक ठेकेदारको म्याद थप्दा काम सम्पन्न हुन नसकेपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरीक्षण गरी तिव्र गतिमा काम गर्न निर्देशन दिएपछि निर्माण कार्यले तिब्रता पाएको थियो । विद्युत् गृह निर्माणको ठेक्का पाएको ‘जेजियाङ जिल्लुन’ चिनियाँ कम्पनीको ढिलासुस्तीले साउन महिनामा विद्युत् उत्पादन हुन सकेन ।

दुवै कम्पनीको म्याद सकिएकोले अन्तिम पटक म्याद थप गर्न आयोजनाले अनुरोध गरेअनुसार ६ महिना म्याद थपेर माघमा विद्युत् उत्पादन सुरु हुनेछ । ६ महिनाभित्र उत्पादन गर्ने योजनासाथ सिभिल वर्कको काम पाएको कम्पनी सिनो हाइड्रोको म्याद थप गर्न आयोजना प्रमुख सुभाषकुमार मिश्रले प्राधिकरणसँग अनुरोध गरेका छन् । प्राधिकरण सञ्चालक समिति बैठक नबसेकाले म्याद थपको निर्णय हुन सकेको छैन ।

‘सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रोको मात्र म्याद थप गर्न मिल्छ,’ आयोजना प्रमुख मिश्रले भने, ‘इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको कम्पनीको म्याद थप्न मिल्दैन ।’ इलेक्ट्रोमेकानिकलको ठेक्का चीनको जेजियाङ कम्पनीले लिएको छ । चीनबाट अधिकांश सामान आइसकेका छन् । कम्पनीले विद्युत्गृहमा स्वीचयार्डको निर्माण गरिरहेको छ ।

अयोजनाले जेनेरेटर र टाइन जडान कार्य भइरहेको र विद्युत् प्रसारण लाइनका तीनवटा टावर निर्माण गर्नुपर्नेमा २ वटा अन्तिम चरणमा पुगेको जनाएको छ । सिभिल वर्कको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृह भित्रको पहुँच मार्ग र टेलेरेसको निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । आयोजना प्रमुख मिश्रका अनुसार इलेक्ट्रिमेकानिकलको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

सिभिल वर्कको काम ९८ प्रतिशत सम्पन्न भइसकेको छ । इलेक्ट्रोमेकानिकलको ढिलासुस्तीले सिभिल वर्कको काम प्रभावित हुन गएको आउोजना प्रमुख मिश्रको आरोप छ । विद्युत् प्राधिकरणसँग सिनो हाइड्रो कम्पनीले थप रकम माग गरेको छ । कम्पनीका कारणले ढिलासुस्ती नभएकाले प्राधिकरणले क्षतिपूर्तिस्वरूप रकम उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाको निर्माण कार्य समग्रमा करिब ८५ प्रतिशत सकिएको छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । ५ अर्वभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । २०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । पटक पटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढ्ने अनुमान गरिएको छ ।

निर्माण लागत २ अर्ब ४३ करोड अर्थात प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले बढेर ४ अर्ब ६३ करोड अर्थात प्रतिमेगावाट ३१ करोड रुपैयाँ पुगेको छ । आयोजनाको वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ ।